धनगढीमा फर्निचर उद्योगमा आगलागी।

धनगढीस्थित नेपाल आयल निगमको भण्डारणस्थल नजिकै रहेको एउटा फर्निचर उद्योगमा आगलागी भएको छ ।बजार क्षेत्रमै पर्ने चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा शनिबार दिउँसो सवा १२ बजे आगलागी भएको हो।
करिब २० करोडको लगानीमा सञ्चालन हुन लागेको आलोक फर्निचर उद्योग जलेर नष्ट भएको हो । उद्घाटनको तयारीमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा शनिबार मध्यान्ह अचानक आगलागी भएको थियो।
उद्योगमा वेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । सञ्चालक आरिफ अहमद राईले आफ्नो ठुलो नोक्सानी भएको बताउनुभयो ।
फागुन महिनाभित्रै उद्घाटनको तयारी गरिएको उद्योगमा २२ जना कामदार कार्यरत थिए ।
आगलागी झण्डै २ घण्टापछि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, र चारवटा दमकलले नियन्त्रणमा लिएका थिए ।




