जहाजमा उडिरहेको पत्रकारलाई पक्राउ गर्न २९ लडाकु विमानले घेरे।

विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको अभियानकर्मीहरूले बताएका छन्।
चर्को निन्दा
अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै चर्को निन्दा गरेको छ।
युरोपेली देशहरूले बेलारुसमाथि ‘राज्य आतङ्क’को आरोप लगाएका छन्।
नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुन: उड्न दिइएको थियो।
बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा ओरालेका थिए। तर बम भेटिएन।
अन्तत: विमान उसको वास्तविक गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे ओर्लिएको थियो जुन तोकिएकोभन्दा ७ घण्टा ढिलो थियो।
विमानमा रहेका यात्रुहरूले आफूहरूलाई विमान मिन्स्कतर्फ मोडिएको कारणबारे केही सूचना नदिएको बताए।
एक जनाले प्रोटासेभिच निकै त्रसित देखिएको बताए। अर्की यात्रुले उनले अन्य यात्रुहरूतर्फ हेर्दै अब उनले मृत्युदण्ड बेहोर्ने बताएको सुनाइन्।
युरोपेली युनियन तथा नेटोमाथि हस्तक्षेप गर्नुपर्ने माग आएका छन्।
यूकेका विदेशमन्त्री डोमिनिक राबले बेलारुसको कदमको ‘गम्भीर परिणाम’ हुने बताए।
बेलारुसकी विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाले प्रोटासेभिचको रिहाइको माग गरेकी छन्।
उनले गत वर्षको चुनावमा राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोलाई पराजित गरिएको ठानिएको थियो।
तर अगस्टको चुनावयता ६६ वर्षीय लुकासेन्कोले विरोधीहरूमाथि दमन गरिरहेका छन्।
कैयौँ विपक्षी नेता पक्राउ परेका छन् भने तिखानोभ्स्काया लगायत अन्य कतिपय निर्वासनमा गएका छन्।
कसरी मोडाइयो विमान्?
उक्त विमान ग्रीसको एथेन्सबाट भिल्नियसतर्फ जाँदै गर्दा लिथुआनियाली सिमाना नजिकै पुगेपछि मिन्स्कतर्फ मोडाइएको थियो।
उक्त विमानमा १७१ जना यात्रु रहेको बताइएको छ।
एक विज्ञप्तिमार्फत् र्यानएअरले उसका विमानचालकहरूलाई बेलारुसको हवाई ट्राफिक नियन्त्रकले विमानभित्र सम्भावित सुरक्षा खतरा रहेको भन्दै नजिकको मिन्स्क विमानस्थलमा ओर्लन सूचित गरेका थिए।




