केपी ओलीले किन बिताए २ घण्टा शितलनिवासमा?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न बुधबार ६ बजे शीतल निवास प्रवेश गरेका थिए। ओली शीतल निवासबाट साँझ ८ बजेपछि बाहिरिएका छन्।

२ घण्टासम्म शीतल निवासमा प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच के कुरा भयो भन्ने विषयमा भने केही जानकारी दिइएको छैन। राष्ट्रपति भण्डारीको सचिवालयले भने यो नियमित भेट भएको जनाएको छ। राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले यो नियमित भेट भएको डिसी नेपाललाई जानकारी दिए।

सरकारले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेपछि विपक्षी दल तथा नागरिक समाजबाट त्यसको व्यापक विरोध भइरहेको छ भने सर्वोच्च अदालतमा त्यसविरुद्ध करिब ३० वटा रिट दायर भएका छन्।

ती रिटमाथि विहीबारदेखि बहस हुनेछ। राष्ट्रपति भण्डारीले आफूले आव्हान गरेअनुसार वर्तमान प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि दावी पेश गरे पनि त्यसलाई खारेज गरिदिएकी थिइन्। त्यसपछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएर प्रतिनिधिसभा भंग गर्दै चुनावको मिति सिफारिस गरेका थिए। मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै चुनाव घोषणा गरेकी थिइन्।

यसअघि पुस ५ मा पनि प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरिएको थियो। तर, सर्वोच्चले फागुन ११ मा प्रतिनिधिसभालाई पुनःस्थापित गरिदिएको थियो। सो फैसलाको पूर्णपाठ नआउँदै सरकारले फेरि प्रतिनिधिसभा विघटन गरिदिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button