नेपालमा”वि.स.२००८ साल” पहिलो पटक को बजेट विनियोजन यस्तो थियो।

नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला सरकारको पालामा वि.सं. २००८ साल माघ २१ गते औपचारिकरूपमा घोषणा भएको थियो। तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ प्रक्षेपित अनुमान राखिएको थियो। शिक्षा क्षेत्रमा सयकडा ५० र स्वास्थ्य क्षेत्रमा सयकडा ३८ रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यस्तै, २००९ सालमा चुनाव गर्ने घोषणसमेत गरिएको थियो ।
२००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो। त्यसअघि दरबारिया तथा जहानियाँ राणा शासनको पारिवारिक बजेट छुट्याइने गरिन्थ्यो। १ सय ४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनताले यो बजेटले पहिलोपटक आर्थिक स्वतन्त्रताको अधिकारको महशुस गराएको थियो ।
चुनावी सरकारले पूर्ण आकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज अध्यादेशबाट ल्याउँदै छ। यसै सन्दर्भमा नेपालको पहिलो बजेटबारे यहाँ उल्लेख गरिएकाे छ ।
सामान्यतया बजेटलाई आय र व्ययको विवरण भनिएतापनी बजेट गत आर्थिक वर्षको आर्थिक गतिविधिहरूको अभिलेख मानिन्छ। चालु आर्थिक वर्षका आर्थिक गतिविधिहरूको चित्रण र आगामी वर्षका गतिविधिहरूको प्रक्षेपित अनुमानको दस्तावेजको रुपमा बजेटलाई लिइन्छ। एसियाली विकास बैङ्कले बजेटलाई आर्थिक गतिविधिहरूको ऐना भनेर परिभाषित गरेको छ।




