नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिस्कार गरे।

कोरोना महामारीलाई परास्त गर्न सामुहिक रुपमा लड्नुपर्ने बेलामा ठूला दलहरुको जुधाई नागरिकका लागि नभई सत्ता स्वार्थका लागि भएकोले आफूले मतदान बहिस्कार गर्ने निणर्य गरेको डा.राणाले जानकारी दिए । उनले भनेका छन्, ‘मेरो प्राथमिकता मदतान होइन, कोरोनासँग जुध्नु हो ।’
यो सामूहिक महामारीका रूपमा देखापरेकाले सबै दलहरुले सत्ता र स्वार्थभन्दा माथि उठेर यसको नियन्त्रणमा लाग्नुपर्ने उनले बताए । रोकथाम, नियन्त्रण वा निर्मूलीकरण आदि जेसुकै भए पनि दलहरुले सामुहिक प्रयासबिना कोरोनाजस्ता जुनसुकै महामारीविरुद्ध लड्न पनि कठिनाइ हुने कुरा भुल्न नहुने उनले बताए ।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले काँग्रेस, एमाले र माओवादीको यो अबस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निणर्य गरेको छु, धन्यवाद !!’
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । सोमबार नै नतिजा घोषणा हुनेछ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, जसपा उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
प्रदेशसभाका ८३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहित २१७ जना गरि जम्मा ३ सय जनाले मतदान गर्न पाउने छन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मतदाता नामावलीमा चारजनाको नाम थपेको थियो । जनता समाजवादी पार्टीका चारजना प्रदेशसभा सदस्यले निर्वाचनमा मतदान गर्न पाउने छन् ।
राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभातर्फ ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगले चारजना प्रदेशसभा सदस्यको नाम पुरक मतदाता नामावलीमा समावेस गरेको हो । सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी, कल्पना पाण्डेले मतदान गर्न पाउने भएका हुन् । यता निर्वाचन आयोगले गरेको निणर्यको विरोध गठबन्धले गरेको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमाले र गठबन्धनको उम्मेदवारबीचमा कडा टक्कर हुने विश्लेषण गरिएको छ । जसपा र स्वतन्त्रबाट स्थानीय तहको निर्वाचन जितेकाहरु नै निर्वाचन जिताउने आधार भएको ठान्दै दुवै पक्ष सोही मत तान्न कस्सिएको पाइएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली काँग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेको दाबी गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्यको कुल संख्या ८७ हो । तर, अहिले कायम रहेको संख्या ८३ छ ।
नेकपा एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ सांसद रहेका छन् । नेकपा एमालेका ३८, नेपाली काँग्रेसका १९, माओवादी केन्द्र १९ (विमला वलीसहित), जसपा महन्थ पक्ष ४, जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसद लुम्बिनी प्रदेशसभामा रहेका छन् ।




