चीनले २ सन्तान नीति खारेज गर्यो।

चीनले दुई सन्तान नीतिलाई खारेज गर्दै तीन सन्तानको नीति अँगाल्ने भएको छ । पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो ।

समाचार संस्थासिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले उक्त नीति लागू गर्ने निर्णय गरेको हो। उक्त बैठक राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको थियो।

यसै वर्षको सुरुवातमा सार्वजनिक भएको जनगणनाअनुसार चीनमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको थियो। जुन १९६० को दशकयताकै कम भएको बताइएको छ। चीनको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ।

यसअघि चीनले सन् २०१६ मा साढे तीन दशक लामो एक सन्तानको नीतिलाई खारेज गर्दै दुई सन्तानको नीति अँगालेको थियो। दोस्रो आर्थिक शक्तिका रूपमा अगाडि आएको चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो।

चीनले सन् १९८० देखि एक सन्तानको नीति अवलम्बन गरेपछि जनसंख्यालाई कडाइसाथ नियन्त्रण गर्दै आएको थियो। लामो समयसम्म चलेको जापान विरुद्धको युद्ध, दोस्रो विश्वयुद्ध र आन्तरिक गृहयुद्धका कारण बीसौँ शताब्दीमा मात्र चीनले करोडौँ आफ्ना नागरिक गुमाउनुपरेको थियो। त्यसमाथिको भोकमरी र राजनीतिक कोपभाजनका कारण भोगेको आर्थिक नाकाबन्दीले जर्जर बनेको चीनलाई कम्युनिष्ट शासनको सुरुवातसँगै जनसंख्या नियन्त्रण गर्नुपर्ने चुनौती देखिएको थियो।

सन् १९७० मा चीनको जनसंख्या ८० करोड नाघेपछि चीनले १९७५ मा ‘ढिलो, लामो र थोरै’ (लेट, लङ एन्ड फिउ) भन्ने नारा अगाडि बढायो। यसको अर्थ ढिलो विवाह गर, लामो समयसम्म बच्चा नजन्माऊ र थोरै जन्माऊ भन्ने थियो। त्यतिबेलै दम्पतीलाई एकमात्र सन्तान जन्माउन प्रोत्साहन गर्दै दुईभन्दा बढी सन्तान नजन्माउन भनियो।

उल्लिखित परिधिभित्र नपरेका दम्पतीले दोस्रो सन्तान जन्माएमा कानुनी कारबाही भोग्नुपर्ने थियो। सन् २००१ मा एक सन्तान नीतिको उल्लंघन गरेर बढी सन्तान जन्माउने दम्पतीलाई निकै ठूलो नगद जरिवाना तिर्नुपर्ने प्रावधानसँगै सरकारी जागिरे भएमा जागिर खोसिनेसम्मको नियम बनाइयो। फलस्वरूप थुप्रै दम्पती बारम्बार गर्भपतन गर्न र जन्मिएको दोस्रो सन्तानलाई सरकारी पन्जिकाधिकारीकहाँ दर्ता नगराइकन अवैध बच्चाको रूपमा लुकाएर राख्न बाध्य थिए।

तर पछिल्लो समय चीनमा प्रजनन् दर घटेकाले नयाँ नीति अपनाइएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button