भर्खरै गठन भएको हुनाले रास्वपाले धेरै निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागि सार्वजनिक आह्वान गरेको थियो । यसरी आह्वान गर्दा इच्छुकले अनलाइनमा आवेदन दिन सक्थे । केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार छोटो समयमै १५ सयजतिले उम्मेदवारी दिन तत्पर रहेको आवेदन पेस गरे । रास्वपाले प्रत्येक उम्मेदवारको प्रहरी रिपोर्ट, शैक्षिक योग्यताको प्रमाणपत्र तथा कुनै पनि नैतिक पतन हुने काम नगरेको स्वघोषणा गर्न पनि आह्वान गरेको थियो । ‘आएकामध्ये ४ सयले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजात पेस गर्नुभयो,’ कार्की भन्छन्, ‘त्यसमध्ये पनि हामीले सर्ट लिस्ट गरेर प्राइमरी इलेक्सन गरी उम्मेदवारहरू छान्यौं ।’ कतिपय उम्मेदवारलाई चाहिँ रास्वपा आफैंले उम्मेदवारीका लागि आग्रह गरेको थियो । डा. तोसिमा यसरी आग्रह गरिने थोरै उम्मेदवारमध्येकी एक थिइन् ।
अबको रणनीति बनाउन छलफल हुनै बाँकी रहेको ललितपुर–३ बाट निर्वाचित रास्वपाकी सांसद डा. तोसिमा कार्की बताउँछिन् । ‘चुनाव जित्नेहरूबीच भेटघाट गरेर छलफल पनि हुन पाएको छैन,’ उनले भनिन् । उनी प्रतिनिधिसभा सदस्यका लागि निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्काभन्दा १८ हजार २ सय बढी मत अर्थात् ३१ हजार १ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । पाटन अस्पतालकी जनरल सर्जन ३३ वर्षीया तोसिमा राजनीतिमा कुनै दर्शनले डोर्याएर होइन, बेथितिबाट वाक्क भएर आएकी हुन् ।
चिकित्सक भएर काम गर्दा स्वास्थ्य क्षेत्रमा भएको भद्रगोल अवस्था र राजनीति गर्नेहरूले यसबाट लिएको अनुचित लाभका विरुद्ध आफू राजनीतिमा आएको उनको स्पष्टोक्ति छ । स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक पहल गर्नुपर्ने डा. गोविन्द केसीको माग र उनका सत्याग्रहरूमा साथ दिँदै आएकी उनी अब पनि आफ्नो प्रयास एक सांसदका रूपमा उही नै हुने बताउँछिन् । अस्पतालको जागिरबाट राजीनामा दिएर रास्वपाका लागि चुनावी मैदानमा उत्रिएकी तोसिमालाई उनको उम्मेदवारीले भन्दा मेडिकल काउन्सिलमा उनको आबद्धताको कारण देखाउँदै उम्मेदवारी खारेज गर्नु निर्वाचन आयोगको निर्णय र त्यसविरुद्ध सर्वोच्चको आदेशले चर्चामा आइन् ।
तोसिमाले आफूमाथि मतदाताले सुम्पिएको यो विश्वास कायम राखिराख्न सक्लिन् त ? ‘म सक्दो प्रयास गर्नेछु,’ उनी भन्छिन्, ‘स्वास्थ्य क्षेत्रको निरन्तर सुधार र गुणस्तरीय सेवाको उपलब्धतामा म हिजो पनि थिएँ र अब पनि लागिरहेर त्यो विश्वासलाई कायम राख्छु ।’
काठमाडौं–२ की विजेता सोविता गौतम र ७ का विजेता गणेश पराजुली सुरुमा गठन भएको २१ सदस्यीय पार्टी कमिटीका केन्द्रीय सदस्य थिए । काठमाडौं–६ का विजेता शिशिर खनाल र ८ का विराजभक्त श्रेष्ठले उम्मेदवारी दिनका लागि आफैंले रास्वपासँग प्रस्ताव राखेका थिए भने चितवन–१ बाट जित हासिल गरेका हरि ढकाल रास्वपा टिमले भेट्नुअघि स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिसकेका थिए ।
एमालेको विद्यार्थी राजनीतिक पृष्ठभूमि भएका सेयर बजारका लगानीकर्ता ढकाल किन पनि चर्चामा छन् भने उनले कुनै समयका आफ्नै नेता पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतको अन्तरमा ३४ हजार १ सय ८९ मत ल्याई हराए । स्थानीय तह निर्वाचनका बेला काठमाडौंमा मेयर बालेन्द्र साहको चुनावी अभियानमा पनि जोडिएका ३८ वर्षीय ढकाल ठूला दलप्रतिको वितृष्णाका कारण राजनीतिमा उत्रिएको बताउँछन् । ‘तिनै पार्टी, तिनै नेताहरूले यहाँको चाहना, आवश्यकता बुझ्न सक्ने नदेखेर म नयाँ ढंगले अगाडि बढेको हुँ,’ उनले भने ।
अमेरिकामा उच्च शिक्षा पढेर आएका पुर्ख्यौली घर तनहुँका शिशिर खनाल ‘टिच फर नेपाल’ का संस्थापक हुन्, जसले सरकारी स्कुलमा गुणस्तरीय पठनपाठनको अभियान सुरु गरेका थिए । पछिल्लो समय उनले ‘पिक एन्ड ड्रप’ नामको सामान अनलाइन डेलिभरी गर्ने व्यवसाय सम्हाल्दै आएका थिए । चर्चित उम्मेदवार कांग्रेसका भीमसेनदास श्रेष्ठ र एमालेका सर्वेन्द्र खनालभन्दा झन्डै दोब्बर मतले चुनिएका ४१ वर्षीय शिशिर आफ्नो व्यवसाय र शैक्षिक अभियानले गर्दा युवामाझ परिचित नै थिए । काठमाडौं–७ बाट विजयी केन्द्रीय सदस्य गणेश पराजुली हस्पिटालिटी व्यवसायका साथै हस्तकलाका सामान विदेश निर्यातमा संलग्न छन् । ३९ वर्षीय पराजुलीको थप पृष्ठभूमि आफूलाई थाहा नभएको प्रेस संयोजक कार्कीले बताए ।
काठमाडौं–८ का बहुप्रचारित स्वतन्त्र उम्मेदवार सुमन सायमीको लौरो चिह्नविरुद्ध दोब्बर मतले विजयी भएका शिशिरकै उमेरका विराजभक्त श्रेष्ठ यसअघि विवेकशील साझाबाट वाग्मती प्रदेशका लागि प्रदेशसभा सदस्य भएका थिए । यसरी अलग–अलग पृष्ठभूमि र अभियानबाट आएकाहरू संसद्मा एउटै लयमा प्रस्तुत होलान् कि नहोलान् भन्ने प्रश्न आम रूपमा उब्जिनुलाई काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम स्वाभाविक ठान्छिन् । ‘हाम्रा पृष्ठभूमि अलग होलान् र विचार पनि एकै नहोला तर हामी एकै लयमा नजानुको विकल्प छैन,’ उनले भनिन्, ‘एउटै लयमा गएनौं भने जुन परिवर्तनका लागि युवाको उदय भयो र हाम्रो पार्टीको उदय भयो, त्यो सबै संकटमा पर्छ ।’
दोलखामा जन्मी–हुर्की पेप्सीकोलामा बस्दै आएकी २७ वर्षीया सोविता रास्वपाबाट चुनिएका सात सांसदमध्ये सबभन्दा कान्छी हुन् । २२ वर्षकी हुँदा उनले नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार भन्ने कार्यक्रम सुरु गरिन्, जो कोभिड सुरु नहुन्जेलसम्म पाँच वर्ष चल्यो । त्यसपछि केही समयका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा प्रेस संयोजक भइन् । कानुनमा स्नातक उनी पछि त्यहाँ सहायक कानुनी सल्लाहकार पनि भइन् । रास्वपा गठन हुने भएपछि रविको टोलीले सोवितालाई पनि केन्द्रीय सदस्यका रूपमा पार्टीमा सामेल गरायो । पार्टीका अन्य पदाधिकारी पनि अलग पृष्ठभूमिका छन् । उपसभापति डोरप्रसाद अर्याल होटल तथा रेस्टुरेन्ट व्यवसायी हुन् ।
पुर्ख्यौली घर धादिङ भएका ४४ वर्षीय उनी अहिले काठमाडौंमै बस्छन् । प्रवक्ता तथा महामन्त्री मुकुल ढकाल एमबीबीएस डाक्टर हुन् । रविको अगुवाइमा बनेको कालीकोटको रासकोट अस्पताल निर्माणमा २९ वर्षीय ढकालको सक्रिय भूमिका थियो । गोरखामा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पराजित कवीन्द्र बुर्लाकोटी रास्वपाका महामन्त्री हुन् । उनको पूर्वशिक्षक तथा सामाजिक अभियन्ताको पृष्ठभूमि छ । त्यस्तै, प्रेस संयोजक कार्की मोरङ शनिश्चरेका हुन् । वातावरण विज्ञान पढेका ३७ वर्षीय उनी यसै क्षेत्रको परामर्शदाताका रूपमा काम गर्थे । पार्टी गठन भएको दुई महिनापछि उनका साथ डा. अरनिको पाण्डे र सुमना श्रेष्ठ पनि केन्द्रीय सदस्य हुन पुगेका थिए ।
सभापति रविनिकट मानिने दीपकराज बोहरा अर्का केन्द्रीय सदस्य हुन्, जो रविसँगै कुनै समय पत्रकारिता गर्थे । अर्का केन्द्रीय सदस्य विपिनकुमार आचार्य ‘को बन्छ करोडपति’, ‘क्राइम प्याट्रोल’ लगायत टीभीका कार्यक्रम उत्पादक हुन् ।
‘हामी अलग पेसा र अभियानबाट आएका भए पनि उद्देश्य एउटै छ, त्यही उद्देश्य नै हामीलाई जोड्ने साझा सेतु हो,’ सोविता भन्छिन्, ‘त्यो उद्देश्य भनेको पुराना दलले सिर्जना गरेको बेथितिको अन्त्य गर्नु, भ्रष्टाचारलाई खत्तम पार्नु र देशलाई बस्न लायक बनाउनु । यसमा हामीबीच मतान्तर आउने छैन ।’





