राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद छनोट गर्दा पार्टीको विधि र नीति मिच्यो भन्ने आरोप आइरहेको छ । पार्टीका नेताहरूले नै विधि मिचेर समानुपातिक सांसद छनोट गरिएको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेका छन् ।

 

पार्टीको महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफूनिकटकालाई समानुपातिकतर्फबाट सांसद बनाउन विधि मिचेको र त्यसमा सभापति रवि लामिछानेले साथ दिएको भन्दै रास्वपाका केन्द्रीय सदस्य र जिल्ला सभापतिलगायत सदस्यहरूले आलोचना गरिरहेका छन् । त्यस्तै, सभापति लामिछाने सरकारमा जानका लागि आतुर रहेको तर त्यसरी सरकारमा जानु गलत भएको रास्वापका नेताहरूले बताइरहेका छन् ।

रास्वपाको समानुपातिक सांसद छनोट विवाद र सरकारमा सहभागिताबारे केन्द्रीय सदस्य गणेश कार्कीसँग इकान्तिपुरका जयसिंह महराले गरेको कुराकानी :

समानुपातिक सांसद उम्मेदवार छनोटका लागि पार्टीले १२ वटा क्लस्टरमा ‘प्राइमरी निर्वाचन’ गरेको थियो । त्यो भनेको पार्टीभित्र प्रतिस्पर्धा होस् र यताउताको विवाद नहोस् भनेर थियो । तर‚ त्यसो गर्दा पनि हाम्रो प्रवक्ता तथा महामन्त्रीको प्रिन्सिपल र कर्मचारी जान नपाउने भएपछि १२ वटा क्लस्टरलाई मिचेर ६ वटा बनाइयो । डा. चन्दा कार्की प्रिन्सिपल र निशा डाँगी कर्मचारी हुन् ।

बैठकमा १२ वटै क्लस्टरमा निर्वाचन भएको हो र त्यसबाट नै छनोट गर्नुपर्छ भन्ने कुरा गर्दा पटक्कै सुनुवाइ भएन । बरु कसरी बैठक रोक्ने र कसरी छिटो सक्ने भन्ने भयो । हतारहतारमा नाम छनोट गरियो ।

त्यो तपाईंहरूलाई रोक्न थियो कि आफ्नालाई सांसद बनाउन ?

हामीलाई रोक्न हो भन्ने लाग्दैन । तर, आफ्ना मान्छे ल्याउन हो ।

समानुपातिक सांसद छनोटका क्रममा तपाईंहरूको नयाँ पार्टीमा पनि पुराना भनिएका पार्टीमा जस्तो परिवार र नजिकका मान्छे पहिलो रोजाइमा परेका छन् । यसरी रास्वपा कसरी वैकल्पिक राजनीतिक शक्ति हुन्छ त ?

अरु पार्टीमा त्यस्ता निर्णयहरुको विरोध हुँदैन । तर‚ हामीले विरोध गरेका छौं । फरक यही हो । मैले पार्टीभित्र र सार्वजनिक रूपमै विरोध गरिरहेको छु ।

समानुपातिक सांसद छनोट गर्न बसेको केन्द्रीय समिति बैठकमा कति जनाले विरोध र समर्थन गर्नुभएको थियो ?

ठ्याक्कै संख्यागत रूपमा विभाजन भएन । ‘समय भएन त्यही भएर छिटो निर्णय गरिहालौं, यो छ प्रस्ताव’ भनेर सभापतिले पेस गर्नुभयो । कति जनाको समर्थन छ भन्दा ४-५ जना केन्द्रीय सदस्यले ताली पिट्नुभयो । तर कति जनाको विरोध छ भनेर प्रश्न नै सोध्नुभएन ।

तपाईंले भनेअनुसार महामन्त्री ढकालको स्वार्थमा सभापति रवि लामिछानेको पनि समर्थन छ ?

त्यो देखियो । त्यसैले प्राइमरी निर्वाचन गरिएको केही अर्थ नै रहेन । उहाँहरूले महिलाहरूलाई छनोट गर्नका लागि यस्तो गरियो भन्नुभयो । तर, महिला लानु थियो भने दलित क्लस्टरबाट किन दुई जना पुरुष लगियो त ? त्यसैले केही पनि छेकछन्द मिलेको छैन । अन्तिममा आएर सभापतिले पनि महामन्त्रीकै पक्ष लिइदिनुभयो । जति विरोध गर्दा पनि सुनुवाइ भएन ।

 

हामीले यो कुरा हुनसक्छ भनेर केन्द्रीय समिति बैठक राखौं भनेका थियौं । निर्वाचन आयोगले तीन दिनको समय दिएको थियो । तर सभापति चितवनतिर लागिदिनुभयो । अन्तिम दिनमात्रै उहाँ काठमाडौं आइपुग्नुभयो । यस विषयमा पर्याप्त छलफल पनि भएन र पार्टीको विधि पनि मानिएन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here