विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले खेल्ने पक्का भएको छ । यी दुई देशबीचको खेल मंगलबार राती पौने १ बजे सुरु हुनेछ ।विश्वकपमा दुई देशबीच भएका खेलको विगत हेर्दा दुवै टोली उत्तिकै बलियो देखिएका छन् ।
अर्जेन्टिना र क्रोएसियाले यसअघि २ वटा विश्वकपमा प्रतिष्पर्धा गरेकोमा दुवै देश एक/एक खेलमा विजयी भएका छन् ।सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १-० गोलले हरायो । त्यतिबेला ३६ मिनेटमा पिनेडाले गरेको गोल नै अर्जेन्टिनाको जितको आधार बनेको थियो ।
तर सन् २०१८ को विश्वकपमा भने क्रोएसियाले अर्जेन्टिनालाई हरायो । अर्जेन्टिनालाई ३-० गोलले हराउने क्रममा क्रोएसियाका रेविक, लुका मोड्रिच र र्याकेटिचले गोल गरेका थिए ।विश्वकपबाहेक यी दुई देशले थप ३ वटा खेल खेलेका छन् । अर्जेन्टिना र क्रोएसियाबीच सन् १९९४ मा भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सन् २००६ को मैत्रीपूर्ण खेलमा क्रोएसियाले ३ गोल हान्दा अर्जेन्टिनाले २ गोल हानेर हार्यो । सन् २०१४ मा भएको मैत्रीपूर्णमा अर्जेन्टिना २-० गोलले विजयी भयो । अहिलेसम्मका पाँच वटा खेलमा क्रोएसियाले ७ गोल र अर्जेन्टनाले ५ गोल गरेका छन् ।
यता फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ।यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। मोरक्कोलाई जित दिलाउने क्रममा खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गोल गरे। पोर्चुगलको तर्फबाट भने खेलमा कुनै गोल हुन सकेन। यससँगै मोरक्कोले नयाँ इतिहास रचेको हो।
यसअघि मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। समूह चरणको खेलमा पनि मोरक्कोले बलियो मानिएको बेल्जियमलाई पराजित गरेको थियो।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दियो । पोस्टमा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो । पोर्चुगलले लगत्तै खेल बराबरी गर्ने अवसर पाएपनि क्रसबार बाधक बन्यो ।
दोस्रो हाफको सुरुवातमै मोरक्को अग्रता दोब्बर पार्ने संघारमा पुगेको थियो । तर त्यसलाई सदुपयोग गर्न नसकेपछि पोर्चुगलले आक्रामक परिवर्तन गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र जोआओ क्यान्सेलोलाई मैदान प्रवेश गरायो । त्यसपछि लगातार आक्रमण बुनेको पोर्चुगल गोलरक्षक बोनोलाई बिट गर्न भने सफल भएन ।





