वीरगञ्जका व्यवसायी मनोज मरोडिया स्टेशनरी व्यवसाय गर्थे । उनले बिक्री गर्ने कलम भारत तथा तेस्रो मुलुकबाट आउँथ्यो । भारतीय कम्पनीले हरेक दुई–दुई महिनामा मूल्य बढाउँथ्यो ।
भन्सार तिरेर ल्याउँदा लागत बढी पर्ने, भन्सार छलेर ल्याउनेहरुले जहिल्यै सस्तोमा बेच्ने । १६ वर्ष उनले नेपाली कलम बजारलाई नियाले, विद्यार्थीले प्रयोग गर्ने कलम र सरकारी कार्यालयमा प्रयोग हुने कलमको तथ्यांक केलाए । भारतीय कम्पनीहरुले गर्ने कारोबारलाई पनि नियाले । वार्षिक ३० करोड पेन नेपालमा खपत हुने उनले पत्ता लगाए । त्यसपछि उनलाई लाग्यो, यो बजार त ठीकै छ ।
किन नेपालमै स्वदेशी कलम उद्योग नखोल्ने ? स्टार लाइनले राम्रै व्यापार गरेको उनले देखेका थिए । स्वदेशमै कलम उद्योग स्थापना गर्ने उद्देश्यले उनले दुई वर्ष अघिबाट काम सुरु गरे । अहिले उनको योजनाले साकार रुप लिंदैछ । उनले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा उद्योग स्थापना गरिसकेका छन् –विणा शक्ति पेपर एण्ड स्टेशनरी प्रोडक्ट उद्योग । बाराको परवानीपुर गाउँपालिका– ४ चैनपुरमा उद्योग छ । उद्योगमा जापानिज प्रविधिका तीन वटा मेसिन जडान भइसकेको छ । त्यस्ता मेसिन १० वटा जडान गर्ने लक्ष्य छ । तीन तलाको भवन तथा मेसिनमा गरेर २५ करोड रुपैयाँ लगानी गरिसकेको सञ्चालक मरोडियाको दावी छ ।
थप मेसिन ल्याउन र अन्य काम सम्पन्न गर्दा लागत ४० करोड रुपैयाँ पुग्ने अनुमान उनको छ । ‘८५ प्रतिशत काम सम्पन्न हुँदा २५ करोड रुपैयाँ खर्च भएको छ’, उनले भने, ‘योजना अनुसार पूर्ण क्षमतामा सञ्चालनमा ल्याउँदा लागत ४० करोड पुग्छ होला ।’





