धनगढी बसपार्कमा बृद्धा महिलामाथि कुटपिट गर्दै लफडा मच्चाएको गुनासोपछि मोनिका भनेर चिनिने एक तेस्रो लिंगी महिलालाई नियन्त्रणमा लिएको भोलिपल्टै प्रहरी इन्चार्जको सरुवा गरिएको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्दले २९ जेठको मध्यरातमा बसपार्कमा लफडा गरेर वृद्धामाथि कुटपिट गर्ने मोनिकालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।
चन्दले नियन्त्रणमा लिएर जिप्रका बुझाएका मोनिकाले नै आफूमाथि असभ्य व्यवहार भएको गुनासो गरेपछि उनलाई जिल्ला तानिएको हो ।
बसपार्क प्रहरीको कमाण्ड सम्हाल्दा राम्रो काम गरेको भन्दै ख्याति कमाएका चन्दलाई प्रतिशोध साध्ने नाममा गरिएको अभद्र व्यवहारको मौखिक गुनासोकै कारण एसपी देवेन्द्र पालले जिल्ला तानेका हुन् ।
उनको ठाउँमा भीमबहादुर चन्दलाई खटाइएको छ । एसपी पालले तेस्रो लिंगी महिलाको प्रभावमा परेर चन्दलाई जिल्ला तानेको आशंका गरिएको छ ।





