काठमाडौं । अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ ।
पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको जानकारी दिए ।
ुमिति तय भइसकेको छैन । सायद यही महिनाको अन्तिमतिर जानुहुन्छ होला । मनोनयनको प्रक्रिया टुंगिसकेको छ,ु ढकालले भने ।
मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन् ।
भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए । भारत सरकारले सीमासम्म ल्याइदिने र त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको उनले जनाए ।
सरकारले भारतबाट उन्नत नस्लका मुर्रा राँगा ल्याउन २०७३ सालबाटै पहल सुरू गरेको थियो । यी राँगाबाट रैथाने भैंसीको नश्ल सुधार हुने हुँदा सरकारले सात वर्षदेखि मुर्रा राँगा ल्याउन भारतसँग पहल गरिरहेको थियो । सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा उन्नत नश्लका मुर्रा राँगा दिने जनाएको हो ।
मुर्रा राँगाबाट नश्ल सुधार भएका भैंसीले रैथाने भैंसीको तुलनामा झन्डै तीन गुणा बढी दूध दिने ढकाल बताउँछन् ।
अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजनन क्षमता रहेको भनिएको छ । ती राँगाबाट वार्षिक २ लाख वीर्य किसानको गोठगोठमा पुर्याउने विभागको योजना छ । (सेतोपाटीबाट)





