रूकुम पश्चिममा प्रहरी माथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा ड्युटीमा खटिएका प्रहरीलाई नै कुटपिट गरि घाइते बनाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँफिकोट ४ का २८ वर्षीय लक्ष्मण विक, सोही ठाउँका २२ वर्षीय जनक खनाल खत्री, वडा नम्बर ५ का २२ वर्षीय कैलास पुरी, वडा नम्बर ६ का १५ वर्षीय एक बालक रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
बाँफिकोट गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय हिरालाल केसीसंग वडा नम्बर ३ का २७ वर्षीय गोविन्द बिक, ४ का २२ वर्षिय लक्ष्मण विक र सोही ठाउँका २० वर्षीय सन्जु खड्का लगायतका १२, १३ जना युवाको विवाद भएको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय बाँफिकोटबाट सुरक्षा दिन पुगेको प्रहरी माथि नै उनीहरूले कुटपिट गरेका हुन ।
कुटपिटबाट दुई जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ । घाइते हुनेमा इप्रका बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र प्रहरी चौकी मग्मामा दरबन्दी भई इप्रका बाँफिकोटमा कार्यरत प्रहरी जवान हिमराज खड्का रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।
घाइते मध्य शाहीको ढाडमा भित्री चोट लागेको र हल्का बोल्न सक्ने बाँया खुट्टा चल्न सकेको छैन भने खड्काको टाउकोमा चोट लागेको र बोल्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार घाइते दुवैलाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार पछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाईको छ । मेडिकल कलेजमा पनि शाहीको उपचार नभएपछि काठमाण्डौँ रिफर गरिएको शाहीले जानकारी दिए । फरार रहेका बाँकीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । अझै पनि मुख्य आरोपी फरार रहेको प्रहरीले जनाएको छ ।





