भारतको प्रयागराजमा जारी महाकुम्भमा जाँदै गरेका तिर्थयात्री सवार बस सुर्खेतको बबईमा दुर्घटनामा परेको छ। रत्न राजमार्गको बबई-हर्रे सडक खण्डको बबईदेखि एक किलोमिटर उत्तर-पश्चिम हर्रेतर्फ बस दुर्घटनामा परेको हो।
आइतबार साझ ५:३० बजेको समयमा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ भेलामा जाँदै गरेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा प्रहरी चौकी चेपाङ बर्दिया र बबईको टोली खटिएर दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ। हालसम्म १५ जना बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।





