सर्जन कुमार शाही – मुगु
कर्णाली स्पोर्ट क्लब जुम्लाको आयोजनामा शनिबार सम्पन्न सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत ५४ किलोमिटरको मुख्य दौडमा कनकासुन्दरी गाउँपालिका–१, जुम्लाका धावक धिर बुढा प्रथम भएका छन्।
उनले जुम्ला सदरमुकाम खलंगाबाट बिहान ठीक ६ बजे सुरु भएको दौड ६ घण्टा १२ मिनेटमा पूरा गर्दै रारा ताल पुगेर उपाधि जितेका हुन्। कठिन पहाडी भूगोल, उकालो–ओरालो र प्राकृतिक चुनौतीका बीच उत्कृष्ट प्रदर्शन गर्दै धिरले आफ्नो क्षमता पुनः प्रमाणित गरेका छन्।
जुम्ला–रारा अल्ट्रा म्याराथन नेपालकै चर्चित साहसिक दौडमध्ये एक मानिन्छ। यस प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना तथा स्थानीय खेल प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
प्रतियोगितामा स्वदेश तथा विदेशका ५१ धावकहरूको उल्लेखनीय सहभागिता रहेको छ भने ५ र १० किलोमिटर गरि कुला ११ सय जना दौडिएको आयोजकले जनाएको छ ।





