सर्जन कुमार शाही – मुगु
मुगु। चलचित्र हेर्नसमेत सहज पहुँच नभएको दुर्गम हिमाली जिल्ला मुगुबाट निर्माण गरिएको छोटो चलचित्र ‘ह्यापिनेस’ (Happiness) काठमाडौंमा आयोजित काठमाडौं फिल्म फेस्टिभल (KFF 2026) मा छनोट भई प्रदर्शन भएको छ।
यश चलचित्रका निर्माता सैलेश हमालले तयार पारेको चलचित्र उनका लागि मात्र नभई मुगुको कला, संस्कृति र स्थानीय प्रतिभाको पहिचानका दृष्टिले पनि यो उपलब्धि महत्वपूर्ण बनेको छ।

मुगुजस्तो दुर्गम जिल्लामा सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बीच चलचित्र निर्माण गरी राष्ट्रियस्तरको फिल्म फेस्टिभलमा छनोट हुनु आफैँमा उल्लेखनीय उपलब्धि हो । राजधानी काठमाडौंमा आयोजित KFF 2026 मा ‘ह्यापिनेस’ प्रदर्शन हुनुले दुर्गम क्षेत्रका प्रतिभाले पनि राष्ट्रिय मञ्चमा आफ्नो सिर्जना प्रस्तुत गर्न सक्छन् भन्ने सन्देश दिएको छ ।

फेस्टिभलको पहिलो दिन आयोजित उद्घाटन समारोह तथा विशेष डिनर वाकदेखि दोस्रो दिनको रेड कार्पेट समारोह र तेस्रो दिनसम्म भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनले निर्माण टोलीलाई नयाँ अनुभव र ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको निर्देशकले जनाए । चलचित्रकर्मीहरूसँगको भेटघाट, छलफल तथा अनुभव आदानप्रदानले टोलीलाई आगामी दिनमा अझ उत्कृष्ट चलचित्र निर्माण गर्न प्रेरणा मिलेको छ बताए ।

फेस्टिभलका क्रममा नेपाली चलचित्र क्षेत्रका आदरणीय व्यक्तित्व मिनबहादुर भामलगायत ख्यातिप्राप्त चलचित्रकर्मीहरूसँग भएको भेटघाट पनि टोलीका लागि विशेष र अविस्मरणीय बनेको थियो । चलचित्र ‘ह्यापिनेस’का निर्माता सैलेश हमालले चलचित्र निर्माणदेखि काठमाडौं फिल्म फेस्टिभलसम्मको यात्रालाई आफ्नो टोलीका लागि ठूलो उपलब्धि र गौरवको क्षणका रूपमा लिएको बताए । उनले चलचित्र निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान पुर्‍याउने सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन्।

त्यसैगरी, चलचित्र निर्माणको यात्रामा मार्गदर्शन, हौसला र प्रेरणा प्रदान गर्नुहुने गुरु तथा मेन्टर राजेश प्रसाद खत्रीप्रति विशेष सम्मान तथा धन्यवाद दिएका थिए ।
नयाँ तथा संघर्षरत फिल्ममेकरहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गरेको भन्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोल तथा KFF 2026 को सम्पूर्ण आयोजक टोलीप्रति पनि निर्माता हमालले आभार व्यक्त गरेका थिए ।

मुगुको विकट भूगोल र सीमित अवसरका बीच सुरु भएको चलचित्र निर्माणको यात्रा राजधानीको रेड कार्पेटसम्म पुग्नु केवल एउटा चलचित्रको सफलता मात्र नभई मुगुका युवा तथा नयाँ पुस्ताका सिर्जनशील प्रतिभाका लागि प्रेरणाको विषय बनेको छ।
‘मुगुको गोरेटोदेखि राजधानीको रेड कार्पेटसम्म’ पुगेको ‘ह्यापिनेस’को यो यात्रा आगामी दिनमा मुगुबाट थप चलचित्रकर्मी जन्माउने र स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने प्रेरणादायी उदाहरण बन्न सक्नेछ।

काठमाडौं फिल्म फेस्टिभल २०२६ का हरेक पल, अनुभव र उपलब्धि निर्माण टोलीका लागि सधैँ अविस्मरणीय रहेको हमालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here