सर्जन कुमार शाही – मुगु
कार्तिक १८,
मुगु। ‘युवामा क्षमता, खेलकुदमा एकता’ भन्ने मूल नाराका साथ मुगुको छायाँनाथ रारा नगरपालिकामा दोस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ। प्रतियोगिताको उद्घाटनसँगै नेपाल पत्रकार महासंघ मुगु र छायाँनाथ रारा नगरपालिकाका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ।
प्रतियोगिताको उद्घाटन संघीय माननीय खड्गबहादुर शाहीले गर्नुभएको हो। उद्घाटन समारोहमा छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम, उपप्रमुख ऐश्वर्य मल्ल तथा पूर्वनगरप्रमुख हरिजंग शाहीलगायतको उपस्थिति रहेको थियो।
नगरपालिकाभित्रका १ देखि १४ वडासम्मका गरी कुल ४२ वटा टोली प्रतियोगितामा सहभागी हुन दर्ता भएका छन्। प्रतियोगिताले स्थानीय युवाहरूको खेलकुद प्रतिभा उजागर गर्नुका साथै आपसी एकता, सद्भाव र भाइचाराको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख ३३ हजार ३३३ रुपैयाँ, द्वितीय हुने टोलीले २ लाख २२ हजार २२२ रुपैयाँ र तृतीय हुने टोलीले १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
स्थानीयस्तरमा फुटबल खेलको विकास, युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो मेयर कप फुटबल प्रतियोगिताले मुगुको खेलकुद क्षेत्रमा थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छाँयानाथ रारा नगरपालिकाका मेयर विष्णु कुमार भामले बताए ।





