काठमाडौं । ‘तैले मलाई अस्ति पागल भनेको होइन । मलाई पागल भन्ने तेरो हैसियत छ ।’ हरिशजंगले झट्टै चिनेनन् श्यामलाई । श्यामको कुरा सुनेर ट्वाँ परेर हेरिरहेका हरिशजंगलाई श्यामले धकेलिदिए । अनि सुरू भयो दुबैबीच हात हालाहाल । छुट्ट्याउने प्रहरी र पत्रकार, दर्शकचाहीँ एमाले कार्यकर्ता !
यो घटना हो, बबरमहलस्थित कार्की बैंक्वैटको । समय बुधबार साढे ११ । कार्यक्रम थियो, नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक । बैठकमा एमालेका शीर्ष नेताहरु आइसकेका थिएनन् कार्यकता र केही नेताहरु भने आइसकेका थिए ।
नेकपा एमालेको केन्द्रीय कमिटीको फोटो समाचार संकलन गर्न गएका उनीहरुबीच हात हालाहाल कसरी भयो ? खासमा श्यामलाई हरिजंगमाथि पृथ्वी जयन्तीको दिन फोटो खिच्दादेखि नै रिसइबी रहेछ । त्यस दिन फोटो÷भिडियो खिच्दा श्याम खाली अघि अघि गएर अन्य पत्रकारहरुलाई ब्लक गरिरहेका थिए रे ! कसैले खिच्ने खोज्यो कि ब्लक मात्र गरिदिने ! पत्रकारहरुले अघि गएर ब्लक नगर्न पटक पटक भनेपनि नमानेपछि भनिदिएछन्, ‘कस्तो पागल मान्छे रहेछ ।’ श्यामलाई पागल भन्ने पत्रकारहरुकै भीडमा थिए, हरिशजंग श्रेत्री पनि ।
अरु फोटोपत्रकारहरुमध्ये हरिशजंगलाई नै श्यामले तारो बनाएका रहेछन् । पछि फेरि बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा पनि आफूलाई पागल भनिएपछि त्यो भन्ने व्यक्ति हरिशजंग नै हो भन्ने लागेको रहेछ श्यामलाई । अनि त्यहीँ रिस बुधबार कार्की बैंक्वैटमा फेरे । तर, कार्की बैंक्वैटमा उनैले बढी गोदाइ भेटे ।
फेरि लाप्पा !
कार्की बैंक्वैटमा प्रथम चरणको झगडापछि फेरि दोस्रो चरणको झगडा पनि भयो । कार्की बैंक्वैटमा श्याम र हरिशजंगबीच झगडा भएपछि श्याम गायब भए । घटनापछि राष्ट्रिय फोटोपत्रकार समूह (एजएफपीजे) का अध्यक्ष प्रदीपवराज वन्तको समूहसहित हरिशजंग श्यामले काम गर्ने स्थल हिमाल टेलिभिजन गयो । श्याम घटनालगत्तै अफिस पुगिसकेका रहेछन्
एनएफपीजेका अध्यक्ष वन्तको समूहले हिमालयका चिफलाई भेटेर घटनाबारे सत्य तथ्य बुझ्न चाहेका थिए । हिमालयका चिफसँग भेट नभएपछि प्रशासन प्रमुख राजु श्रेष्ठसँग वन्तको समूहले गफ गर्न थाल्यो । गफगाफ हुन नपाउँदै श्यामले हरिशजंगलाई मुड्की प्रहार गरे । मुड्की आँखामा लाग्यो, हरिशजंग रुन थाले ।
मुड्की खाएपछि रुँदै हरिशले भने, ‘तलाई कुट्नै पर्ने भए त्यतिबेलै कुट्न सक्थे । तर, मैले कुट्ने मनसाय छैन । खेल्ने भए सिंगल सिंगल खेलौँ ।’ त्यसो त हरिशजंग कराते खेलाडी पनि हुन् । हिमालयका टिभीमा पनि फेरि कार्की बैंक्वैटजस्तै उनीहरुलाई छेकेर फेरि छुट्यायो नत्र फेरि बबाल हुनेवाला थियो । कार्की बैंक्वेटमा झगडा गरेर अफिसमा पुगेर पनि झगडा गर्न नथाकेका श्यामलाई अहिले जागिरबाट हटाइएको छ ।
माफी मागे श्यामले
हिमालयमा झगडा गरेपछि श्यामले हरिशजंगसँग माफी मागेका छन् । उनले त्यतिबेला हरिशजंगजस्तै मान्छे देखेको र आवेगमा आएर गालीगलोज र हातपात गरेको स्विकार्दै मानसिक रूपले आफू अस्वस्थ नभएको भन्दै माफी मागेका छन् ।
के भन्छन्, हरिशजंग
आजको घटनाको यथार्थ यस्तो हो है। आज मेरो जीवनमा एउटा अप्रत्याशित घटना घट्यो एमालेको तेस्रो केन्द्रिय कमिटी बैठकको रिपोर्टिङका लागी बबरमहलस्थित कार्की ब्याङ्क्युट पुगेको थिए । फोटो खिच्नै लाग्दा हिमालयन टेलिभिजनका क्यामेरा प्रर्सन श्याम थापाले एक्कसी मलाई तान्दै तैले मलाई अनुपम फुटल्याण्डमा पागल भनेको होइनस् भन्दै तथानाम गाली गर्दै हातपात सुरु गरे म एकछिन अलमल परे मैले उहाँलाई पागल भनेको सम्झना सम्म छैन । उहाँ माथी अरु कसैले नै त्यस्तो गरेको थियोे होला तर तिमी नै हौं भन्दै आज एक्कसी म माथी जाइलागे तर म अनविज्ञ छु घटना हुँदा आत्मरक्षाका लागी मैले बचाउको प्रयास गरेको मात्रै हुँ।
अपसोच मैले गर्दै नगरेको गल्तीले आज जग हसायो, त्यसमा पनि नेपाली ठुला सञ्चारमाध्यमले एकोहोरो समाचार लेखेर मेरै चरीत्र हत्या गरे । तर उक्त घटनामा म माथि हातपात गर्ने निज श्याम थापाले हिमालयन टेलिभिजनमा पुग्दा अझै म माथी हातपात गर्दा म फेरि एकपटक स्तब्ध भए । अन्तमा उनले तपाईं जस्तै मान्छे थियोे त्यसैले आवेगमा आएर गालीगलोज र हातपात गरेको स्विकार्दै म मानसिक रूपले अस्वस्थ नभएको भन्दै माफी मागेका छन् । बिनाकारण भएको घटनामा मैले नि आत्मरक्षाका लागि हात उठाएकोमा माफी मागे ! बाकी राजेन्द्र सर आएपछि छलफल हुनेछ र निष्कर्ष निस्किने छ ।
आफ्नो एकरत्ति गल्ती बिना आज देशभर सामाजिक सञ्जाल मार्फत भाइरल भइयो । र नेपाली मिडियाको आफैं घटना बुन्ने र लेख्ने चरीत्र र युट्युबे प्रवृत्ति एकपटक फेरि उदाङ्गो भो ।
आजको यो घटनालाई समन्वय गर्ने आदरणीय राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष प्रदीप वन्त, महेश्वर केसी, कृष्ण खड्का, सुनिल प्रधान, हिमालयन टेलिभिजन परिवार र मेरो शुभचिन्तक पर्ती आभार व्यक्त गर्दछु।






