लेबनानमा शक्तिशाली बिस्फोटः कम्तीमा ७० जनाको मृत्यु, ४,००० भन्दा बढी घाइते

लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट हुँदा कम्तीमा ७० जनाको ज्यान गएको छ। बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बेरुत शहरको तटीय क्षेत्रमा भएको बिस्फोटको भिडियोमा धुवाँको मुस्लो उड्दै गरेको तथा आगो दन्किरहेको देखिन्छ ।
गोदाममा विगत ६ वर्षदेखि राखिएको बिस्फोटक पदार्थका कारण ठूलो मानवीय क्षति हुने गरी बिस्फोट भएको सरकारी अधिकारीले बताएका छन् ।
राष्ट्रपति मिशेल एउनले ट्वीट गरेरका छन्, ‘२७ सय ५० टन एमोनियम नाइट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य छ ।’
बिस्फोटनको थप कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको लेबनानका अधिकारीले बताएका छन् । लेबनानको सर्वोच्च सुरक्षा परिषदले घटनामा दोषी देखिनेमाथि कडा भन्दा कडा कारवाही गरिने बताएको छ ।
बिस्फोटका घाइतेका कारण अस्पतालहरु भरिभराउ हुँदा सेवा प्रभावित भएको छ । बिस्फोटबाट स्थानीय धेरै घरहरु ध्वस्त भएको पनि जनाइएको छ ।
राष्ट्रपति एउनले तीन दिनका लागि शोक घोषणा गरेका छन् । उनले आकश्मिक कोषका लागि ६६ मिलियन अमेरिकी डलर प्रदान गर्ने पनि बताएका छन् ।
प्रधानमन्त्री हासन दियबले बिस्फोटलाई गम्भीर विनाश भनेका छन् । उनले जिम्मेवार सबैलाई कडा कारवाही हुनु पर्ने उल्लेख गरेका छन् ।
पूर्वी भूमध्यसागरको साइप्रसको आइल्याण्डसम्म अर्थात २४० किलोमिटर परसम्म बिस्फोटको आवाज सुनिएको थियो ।
बिस्फोट शहरको तटीय इलाकामा भएको हो । अनलाइन पोस्ट गरिएको भिडियोमा बिस्फोटको दृश्य निकै भयानक छ । आगोका लप्का निकै माथिसम्म उठिरहेको देख्न सकिन्छ ।