बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज वडा नं १ का ३७ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
छातीको समस्या भएपछि उनी सोमवार विहान १० बजे अस्पताल भर्ना भएका थिए । उनको सोमवार नै पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । मंगलवार दिउँसो तीन बजे रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको गएराती १ः ३० बजे मृत्यु भएको हो । संक्रमित ती विरामीको दुवै फोक्सोमा निमोनिया भएको चिकित्सकहरुले बताएका छन् ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । नेपालगन्जमा दुई, कोहलपुर, नरैनापुर र बैजनाथमा एकएकगरी अहिलेसम्म पाँचजनाले बाँकेमा भाइरस संक्रमणबाट ज्यान गुमाएका हुन् ।
त्यस्तै आज बाँकेमा रहेका दुई आइसोलेसन सेन्टरबाट ६ जना कोरोना संक्रमितहरु निको भई डिस्चार्ज भएका छन् ।
श्रावण २८ गते भर्ना भएकाहरू १४ दिन पुरा गरेर होटल सिटी प्यालेस सेल्फ पे आइसोलेसनबाट ५ जना र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट एकजना गरी २ महिला र ४ पुरुष कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।
आज डिस्चार्ज भएका समेतगरी बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या ६ सय ६० पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ८ सय ४४ छन् । अहिले जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका १ सय ७९ जना रहेका छन् । अन्य जिल्लाको एकजना पनि बाँकेकै आइसोलेसनमा बसिरहेका छन् ।