आज नेपालमा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि,चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु

आज नेपालमा १ हजार ६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै देशभर आजसम्म ४० हजार ५ सय २९ जना कोरोना संक्रमित भएका छन् । त्यस्तै नेपालमा आज ७ सय ६८ जना डिस्चार्ज भएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा आज महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो ।
यो २ साता यताकै सर्वाधिक धेरै संख्या हो ।यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ । यो सहित आजसम्म निको हुनेको संख्या २२१७८ पुगेको छ । यो ५५ प्रतिशत हो । नेपालमा आज आज १२ हजार ८८ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एक चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज एक ४ वर्षीया बालिका र १० जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा २—२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।
पर्सामा ५३, ८० र ६० वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै महोत्तरीमा ४ वर्षीया बालिका र ३७ पुरुष तथा काठमाडौंमा काठमाडौं ७० र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी सिरहामा ६५ वर्षीय, बारामा ६० वर्षीय, चितवन ५२ वर्षिय र मकवानपुर ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।