टिकटकको विकल्पमा नेपाली एप ‘रमाइलो’, के–के छन् सुविधा?

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडिओहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ।

नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ।

कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ।

पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडिओ अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो। नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो। नेपालमै बनेको यस एपलाई  नेपाली प्रयोगकर्ताहरूले  रूचाउने अपेक्षा कम्पनीको छ।

टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेको यस समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको भनाइ छ।

सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ। सरकारले सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उत्तम एप बन्न सक्ने कम्पनीको भनाइ छ।

यस एपमा भिडिओ निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्नेमा प्रतिबद्ध भएको प्रेस नोटमा उल्लेख छ ।

प्रयोगकर्ताहरूको सुझावका आधारमा कम्पनीले यस एपलाई विकास गर्दै लैजाने जनाएको छ। रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्ने छन्।

यस एपलाई हाल गुगल प्लेस्टोरमा उपलब्ध छ भने केही दिनमै आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ। एण्ड्रोइड मोबाइलमा रमाइलो एप चलाउन https://bit.ly/ramailoshortvideosapp लिंक मार्फत इन्स्टल गर्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button