सुर्खेतमा तरुण दलका नेतामाथि गाेली प्रहार

१२ फाल्गुन २०८०, शनिबार

सुर्खेत । सुर्खेतमा तरुण दलका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको छ। शनिवार राति ८ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका १ देउती थान नजिकै उनीमाथि गोली प्रहार भएको हो। गोली कसले र के कारणले प्रहार गरेको हो केही खुलेको छैन ।

गोली सदस्य गिरीलाई नलागेर उनी चढेको गाडीमा लागेको नेपाली काँग्रेस सुर्खेतका सहसचिव एवम् तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिए। उनले गोली सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलको योजनामै भएको आरोप लगाए।

फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरमा लाग्ने महोत्सवको विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले नेपालगन्जदेखि गुण्डा बोलाएर सदस्य गिरीलाई गोली प्रहार गर्न लगाएको विष्टले आरोप लगाए । उनले कँडेलसँग आफ्नो केही दुश्मनी नभएपनि नेपालगञ्जबाट गुण्डा ल्याएर गोली प्रहार गर्न लगाएको बताए ।

यसबारेमा प्रतिक्रिया लिन खोज्दा अध्यक्ष लक्ष्मण कँडेलले भने यसमा आफ्नो कुनै पनि संलग्नता नभएको प्रष्ट पारे । उनले हरि विष्टले लगाएको सबै आरोपहरू झुटा भएको भन्दै पुष्टि गर्न चुनौती दिए । उनले विष्टले लगाएका आरोप र घटनाका विषयमा सत्य तथ्य अनुसन्धान हुन् जरुरी रहेको पनि बताए।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काले घटनास्थलबाट शङ्कास्पद दुई जना व्यक्ति, एउटा मोटरसाइकल, एउटा मोबाइल र एक जोर जुत्ता नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको र अनुसन्धान कै सिलसिलामा भएकोले पक्राउ गरेका व्यक्तिको नाम भने खुलाउन नमिल्ने बताए।

महोत्सवको विषयलाई लिएर सुर्खेतमा नेपाली काँग्रेसका दुई गुट बिच वारपारको लडाइँ चलिरहेको छ। महोत्सवको ठेक्काको विषयलाई लिएर काँग्रेस नेता हरि विष्ट र महेन्द्र शाही समर्थित दुई समूह बिच ठुलो भिडन्तको आशङ्का गरिएको छ। दुई समूह बिचको प्रतिस्पर्धामा शाहीले समर्थन गरेको ठेकेदारले महोत्सव व्यवस्थापनको जिम्मा पाएपछि विष्ट प्रतिशोधको भावना लिएर अघि बढेको जानकारहरू बताउँछन।

खबरदृस्ठि डट कम बाट साभार ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button