भारतमा घुम्न आएकी स्पेनिस युवतीलाई सामूहिक बलात्कार, तीन जना पक्राउ

भारतीय राज्य झारखण्डको दुम्का जिल्लामा स्पेनिस युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
गएराति ती युवतीलाई सामूहिक बलात्कारका साथै लुटपाट र कुटपिटसमेत गरिएको हो।
उनी सडक छेउमा आफ्ना पतिसँग पालमा बसिरहेका बेला उक्त घटना भएको बीबीसी हिन्दीले जनाएको छ।
दुम्काका एसपी पीताम्बर सिंह खेरवारले पीडित स्पेनिस युवती र उनका श्रीमान्लाई प्रहरी संरक्षणमा दुम्का ल्याइएको बताएका छन्।
एसपी खेरवारले बीबीसी हिन्दीसँग भनेका छन्, ‘शुक्रबार राति हंसडिहा प्रहरी चौकीको गस्ती टोली कुर्महाट हुँदै गइरहेका बेला स्पेनिस दम्पतीले प्रहरी टोलीलाई रोकेर आफूविरुद्ध भएको घटनाबारे जानकारी गराएका थिए। त्यहाँका प्रहरीलाई उनीहरूको भाषा बुझ्न कठिन भएको थियो।यति हुँदाहुँदै पनि गस्ती टोलीले उनीहरूलाई नजिकैको अस्पतालमा पुर्यायो, किनभने उनीहरू घाइते थिए र केही ठाउँबाट रगत बगिरहेको थियो। उनीहरूलाई सामुदायिक स्वास्थ्य केन्द्र सरैयाहाटमा प्राथमिक उपचार गरिएको छ।’