नाेम्जाेमले ८० बर्षको उमेर मा नागरिकता पाउँदा दङ्ग

सर्जन कुमार शाही
मुगु , २०८१ कार्तिक १२ गते
मुगूम कार्मारोङ गाउँपालिका – ५ सेरोग गाँउमा रहेको एकै परिवार ३ जनाको नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित भएका थिए ।
नेपालकाे संविधान भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता पाउने हकबाट वञ्चित नगरिने व्यवस्था गरिएको भए पनि मुगूम कार्मारोङ गाउँपालिका– ५ सेरोगगाँउमा की ८० वर्षीया नोन्जोम कामीको नागरिकता थिएन । ३५ वर्ष पहिले पतिको मृत्यु भएको थियो । त्यसैगरी १८ वर्ष पहिले जेठा छोरा शिलाजित निकाल्ने क्रममा भिर बाट लडेर मृत्यु भएको थियो ।
अहिले घरमा ३२ वर्षीय योदान ग्याम्जो कामी, ३२ वर्षीया की छिमेक साग्मु कामी , १२ र ६ वर्षीया दुई जना नातिनी र आठ वर्षीय नाति रहेका छन । परिवारमा कसैको नागरिकता थिएन र कसैको जन्मदर्ता पनि थिएन । नागरिकता तथा जन्मदर्ता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित हुँदै आएका थिए ।
म बालक हुँदा बुबाको मृत्यु भएकोले आमा बोल्न नसक्ने भएको हुँदा नागरिता बनाउनु भएको थिएन । आमा अहिले ८० वर्ष पुग्दा पनि नागरिकता नहुँदा मेरो र मेरो परिवार को नागरिकता बनाउन समस्या भएको थियो ३२ वर्षीय छोरा योदान ग्याम्जो कामीले इन्सेकलाई गुनासो गरेका थिए । मेरो नागरिकता नहुँदा मेरा बालबच्चाहरुको जन्म दर्ता बनाउन पनि निकै समस्या भएको थियो । नेपाली भएर पनि नागरिकता नपाउदा राज्यबाट पाउने सबै सेवाबाट वञ्चित भएको उहाँले बताउनु भएको थियो ।
गाउँपालिका र वडाकार्यालयबाट केही पनि सेवासुविधा नपाएको ८० वर्षीया नोन्जोम म कामीले गुनासो गर्नुभयाे । कार्यालयमा जाँदा नागरिकता वा जन्मदर्ता प्रमाण पत्र आवश्यक पर्छ । नागरिकता र जन्मदर्ता प्रमाण पत्र केही नहुँदा समस्या भएको उहाँले बताउनु भएको थियो । साथै नागरिकता बनाउनको लागि पहल गरिदिन स्थानीय सरकार तथा सबै सरोकारवालामा अनुरोध समेत गरेका थिए ।
नागरिकता नहुँदा नेपाल सरकार बाट पाउने सबै खालका सेवाबाट वञ्चित भएको जानकारी पाएपछि अहिले नागरिकता बनाउनको लागि सदरमुकाम गमगढी ल्याएर जिल्ला प्रशासन कार्यालयमा सहकार्य गरेको स्थानीय सोनाम तामाङ्ग लामाले बताउनु भएको थियो ।
आफू वडा अध्यक्ष भए देखि यो नागरिकता बिहीन घर परिवारलाई नागरिकता दिने विषयलाई निकै गहनरुपमा लिएको मुगूम कार्मारोङ गाउँपालिका – ५ का वडा अध्यक्ष दावा साङ्वो तामाङले जानकारी दिनुभयो । स्थानीय सरकार तथा प्रहरीबाट सिफारिस र मुचुल्का तयार गरी जिल्ला प्रशासन कार्यालय सम्म नागरिकता बनाउनको लागि समन्वय गरिरहेको उहाँले बताउनु भएको थियो ।
उमेर पुगेर पनि विभिन्न कारणले नागरिकता बनाउनबाट वञ्चित भएको नागरिकलाई नागरिकताको लागि तत्काल प्रकृया अगाडि बढाउने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्रीले जानकारी दिनु भएको थियो । नागरिकताको लागि स्थानीय सरकार सँग समन्वय गरी थप प्रकृया अगाडि बढाईको उहाँको भनाइ थियो ।
आजकै दिन सबै प्रक्रिया पूरा गरेर नागरिकता बिहिन परिवारलाई नागरिकता उपलब्ध गराएको जिल्ला प्रशासन मुगुका प्रमुख जिल्ला अधिकारी टाेपेन्द्र केसी बताउनु भयो । यत्रो लामो समय सम्म नागरिकता नहुदा सरकारको सेवा सुविधा देखि बन्चित भएको पिडा आज नागरिकता प्राप्ति हुँदा अत्यन्त खुशी भएको ८० वर्षिया नोन्जोम कामिले बताइन् ।