विद्युतीय चुरोटमा फस्दै बालबालिका

वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले अर्थ र सञ्चारमन्त्रायले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नसाथ विद्युतीय चुरोटको नेपालबाट प्रतिबन्ध हुने बताए । उनले कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरेको भन्दै चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानि गर्ने बताए ।
उनले सुर्ती सेवनको गेट–वेका रुपमा विद्युतीय चुरोट रहेकोसमेत बताए । ‘विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँछ । यसले निकोटिनको लत बसाउने काम गर्दछ,’ उनले भने, ‘त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेट–वेका रुपमा रहेको छ ।’ विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधै असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने उनको भनाइ छ ।
नेपालमा विद्युतीय चुरोट विभिन्न फ्लेभरमा आउने गरेको छ । भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक ३२ लाख २३ हजार ६ सय ८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल भित्रिएको छ । तीमध्ये ३१ लाख ७५ हजार ८ सय १५ थान ती विद्युतीय चुरोट चीनबाट मात्र आएको छ । यस्तै अमेरिकाबाट २ लाख ६५ हजार ६ सय ४०, संयुक्त अरब इमिरेट्सबाट १२ हजार ९ सय ६७ थान आएको छ । भारत, बेलायतलगायत देशबाट पनि विद्युतीय चुरोट आउने गरेको छ ।
केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. केसीका अनुसार नेपालमा वार्षिक ३२ अर्ब रुपैयाँबराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ । ५ वर्षयता नेपालमा विद्युतीय चुरोटको आयात २सय गुणाले वृद्धि भएको छ ।