चेपुवामा प्रधानमन्त्री दहाल, ७ गते बिश्वासकाे मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।
जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिएका थिए । तेस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा १५७ सांसद थिए ।