सहकारी ठगी प्रकरण: छानबिन गर्न दलहरुबीच सहमति

समितिको क्षेत्राधिकारको मस्यौदा तयार पार्न कानुनमन्त्री पदम गिरीको संयोकत्वमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल रहेको कार्यदल गठन गर्ने दलहरुबीच सहमति भएको हो । कार्यदलको बैठक भोलि बिहान ८ बजे बस्नेछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको चार दलका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेको हो । बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समिति गठनमा सबै दलको सहमति रहेको जानकारी दिनुभयो । उहाँले भोलि बिहान बस्ने बैठकमा समितिको कार्यादेशबारे थप छलफल गरेर टुंगोमा पुगिने बताउनुभयो ।
संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भएको छलफलपछि विपक्षी कांग्रेसका नेताहरुलाई समेत बोलाइएको थियो । चारै दलको बैठकले समिति गठनको सहमति गरेको हो ।
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै नेकपा एमालेका अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग नेपाली कांग्रेसका नेताहरुको छलफल भएको थियो । गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सभामुख देवराज घिमिरेसमेत केहीबेर सहभागी हुनुभएको थियो । उहाँले भोलि बिहान ११ बजेसम्म विपक्षी दलसँग सहमति गर्न सुझाव दिएर बाहिरिनुभएको थियो ।
छलफलमा दाहाल, ओली र लामिछानेसँगै प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरु गगन थापा, रमेश लेखक र कृष्ण सिटौला सहभागी हुनुहुन्थ्यो ।
कांग्रेसले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित गरिएको छ ।