गृहमन्त्री लामिछानेको पुतला दहन

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाई समितिले बिहीबार पोखरामा पुतला दहन गरेको छ । सहकारी ठगीमा संलग्न भएको र गृहमन्त्री भएर अनुसन्धानलाई प्रभावित पारेको भन्दै नेविसंघले गृहमन्त्री लामिछानेको पुतला दहन गरेको हो ।

गृहमन्त्री लामिछानेले सहकारी छानबिन समिति बनाउनुको साटो सहकारी पीडितको मुद्दा उठान गर्ने सञ्चारमाध्यममाथि धरपकड गरेको नेविसंघ इकाई उपसभापति विवेक तिमिल्सिनाले बताए ।

‘सहकारी ठगी छानबिन गरेर बचतकर्ताको रकम फिर्ता गर्नुको सट्टा गिरीबन्धु टि स्टेट काण्डमा एमालेसँग सम्झौता गरेर सत्ता बचाउने खेलमा गृहमन्त्री लागेको देखियो,’ पृथ्वीनारायण क्याम्पसमा गेटमा आयोजित कोणसभामा उनले भने, ‘सहकारीपीडितलाई न्याय दिलाउन जस्तोसुकै आन्दोलन गर्न पछि पर्दैनौं ।’

नेविसंघले गृहमन्त्रीको पुत्ला जलाएपछि केहीबेर प्रहरीसँग झडप समेत भएको थियो । कोणसभामा बोल्दै इकाइ सभापति सुशील न्यौपानेले पोखरामा रहेका सम्पूर्ण सहकारीपीडितको पक्षमा आन्दोलन चर्काउने बताए । ‘पोखराको सूर्यदर्शन लगायत देशभरका विभिन्न सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता पुष्टि हुने प्रशस्त आधार छन्,’ उनले भने, ‘जनताले सहकारी ठग चिनिसक्दा पनि उनले राजीनामा नदिनु लज्जास्पद छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button