चालक अनुमतिपत्र कार्यालयका उपसचिव भट्टराईलाई तीन महिना कैद

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र कार्यालय सुकेधाराका उपसचिवलाई विशेष अदालतले सजाय सुनाएको छ। एक वर्षअघि दायर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएपछि उनलाई कैद र जरिवाना हुने सजाय सुनाइएको हो।

काठमाडौंको सुकेधारास्थित लाइसेन्स कार्यालयमा कार्यरत सुन्दर भट्टराईलाई विशेषले तीन महिना कैद सजाय तोकेको छ। उनले १४ लाख ७४ हजार रुपैयाँ गैरकानुनी तवरले आर्जन गरेको ठहरसहित उक्त सजाय सुनाइएको हो।

विशेष अदालतले मंगलबार उनलाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको हो। अख्तियारले १९ वैशाख ०८० मा एक करोड १५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी आर्जन रहेको दाबीसहित उक्त रकमलाई बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो।

भट्टराईसमेत पाँचजनाविरुद्ध दायर मुद्दामा विशेषका सदस्यहरू खुसीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो। जाँच अवधिमा वैधानिक आय दुई करोड ६६ लाख रुपैयाँ मात्र हुनुपर्नेमा उनको सम्पत्ति दुई करोड ८१ लाखभन्दा बढी देखिएको इजलासको ठहर छ।

उनले श्रीमती मुना भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराई र आमा इन्दिरा भट्टराईका नाममा गैरकानुनी रूपमा आर्जित सम्पत्ति राखेको दाबी गर्दै जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो। मुद्दामा ठहरको फैसला भएपछि उनीहरूबाट बिगोबराबरको सम्पत्ति जफत हुनेछ।

उनी ०३८ साउनदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्। उनको ०७५ मंसिरसम्मको सम्पत्ति गणना गर्दा १४ लाख ७४ हजारको सम्पत्तिको स्रोत नखुलेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button