सर्लाहीमा आफ्नै श्रीमती माथि २ राउन्ड गाेली

सर्लाहीको हरिपूर्वामा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गोली लागेर युवकको बुवा घाइते भएका छन् । साथीसँगै गएराति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ का धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् ।
सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार गरेका थिए । टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् । रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए । उनका अनुसार घटनामा सानो हतियार प्रयोग भएको छ । प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ । हतियार भने फेला नपरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।