महिलालाई डोजरले जिउंदै पुरिएपछि।।

धादिङ — एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।
ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए । काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।
‘शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको छ,’ सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब–इन्स्पेक्टर भानुभक्त आचार्यले भने । शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
घटनापछि एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो । आगजनीबाट एक्स्काभेटर क्षतिग्रस्त बनेको छ ।