नयाँ वर्षको स्वागत गर्दै नारायणी नदी किनारमा भव्य सांगीतिक कार्यक्रम हुँदै

नयाँ वर्षको स्वागत गर्दै नारायणी नदी किनारमा भव्य सांगीतिक कार्यक्रम हुँदैछ । ‘मिसन रेड न्यू इयर फेस्ट–२०८२’ सांगीतिक कार्यक्रमको अहिले तयारी तीव्र पारिएको छ ।
नारायणी किनारलाई गुञ्जायमान बनाउन चर्चित सांगीतिक ब्याण्डहरुको उपस्थिति हुँदैछ । एकै दिन यति धेरै चर्चित ब्याण्डहरुको प्रस्तुती सायदै चितवनमा पहिलोपटक होला । कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड प्रस्तुति दिँदैछन्।
एसडी ईभेन्ट्स एण्ड म्यानेजमेन्टले ‘मिसन रेड न्यू इयर फेस्ट’ नामक भव्य सांगीतिक कन्सर्ट गर्ने जमर्को गरेको हो । सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले भव्य सांगीतिक कन्सर्ट आयोजना गरिएको आयोजकको दाबी छ। कन्सर्टमा चितवन सहित अन्य छिमेकी जिल्लाहरु साथै नेपालभरबाट हजारौ दर्शकहरु आउने अपेक्षा गरिएको छ ।
चैत्र ३१ गते साँझबाट सुरु हुने भव्य कन्सर्टमा करिब १५००० बढी दर्शक आउने आयोजकको अनुमान छ। यी पाँच ब्याण्डको प्रस्तुतिको मनोरञ्जनका लागि खल्ती एप मार्फत अनलाइन टिकटको समेत व्यवस्था गरिएको छ।
एसडी फाउण्डेशनले चितवनसहित देशभर देखिएको रगत अभाव हटाउन ‘मिसन रेड’ अभियान सञ्चालन गरिरहेको छ। अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन्। ‘मिसन रेड’ अभियानले एक वर्षभित्र ५००० पिन्ट रगत संकलन गर्ने, १०००० युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब २००० पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
भव्य कन्सर्टमा यी चर्चित ब्याण्डहरु दिँदै छन् प्रस्तुती
१.मन्त्र ब्यान्ड
२. कुटुम्ब ब्यान्ड
३. द एक्स ब्याण्ड
४.समीर श्रेष्ठ एण्ड गुड बोइज
५. केहर एण्ड जोए