शिक्षकका माग सम्बोधन गर्न सभामुख र शिक्षामन्त्री छलफलमा

सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग भेट गरेका छन्। सभामुख घिमिरेले आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी तथा समितिको प्रगतिबारे उनीहरुसँग छलफल गरेका हुन्।

भेटमा शिक्षा मन्त्रीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको जानकारी दिइन् । उनले शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकाले उपप्रधान तथा अर्थमन्त्रीसँग छलफल गरेको जानकारी दिइन् ।

विश्वकर्माले उपसमितिले विधेयकका १६३ वटा दफामध्ये अहिलेसम्म ८२ वटा दफामा छलफल गरेर निष्कर्षमा पुर्‍याएको जानकारी दिए। ३५ दिन समय पाएको उपसमितिले  तोकिएकै समयावधिभित्र समितिलाई प्रतिवेदन पेश गर्ने बताए । शुक्रबार भएको भेटमा सभामुख घिमिरेले शिक्षकका मागबारे गम्भीर भएर काम गर्न सरकार र समितिको ध्यानाकर्षण गराएका छन्।

नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंको बिजुलीबजारमा १३ दिनदेखि सडक आन्दोलनमा उत्रेका शिक्षकहरूले सरकारले मागको सुनुवाइ नगरेसम्म कक्षा १२ को परीक्षालाई बहिष्कार गर्ने निर्णय गरेका छन्। पूर्वघोषणाअनुसार वैशाख महिनाको ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यता विद्यालयहरूको नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ।

शिक्षक महासंघले संसद्को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ। आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षा कोठामा नफर्कने भन्दै उनीहरूले शैक्षिक हडतालसमेत गरेका छन्। जसका कारण वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रसमेत प्रभावित हुने देखिएको छ। शिक्षकहरूको लगातारको आन्दोलनका कारण माइतीघर–बबरमहल–नयाँबानेश्वर क्षेत्रमा यातायात आवागमनसमेत प्रभावित हुँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button