म्यान्मारमा सैन्य कूपछि सरकारको निर्देशन मान्न अस्वीकार गरेका केही प्रहरी अधिकारीहरु भागेर भारत पसे।

२३ फागुन । म्यान्मारमा सैन्य कूपछि सरकारको निर्देशन मान्न अस्वीकार गरेका केही प्रहरी अधिकारीहरु भागेर भारत पसेका छन् । छिमेकी देश भारत छिरेका उनीहरुलाई फिर्ता गर्न म्यानमारले अनुरोध गरेको छ ।
बिबिसीका अनुसार म्यान्मारका केही प्रहरी अधिकारी र उनका परिवार पछिल्ला दिनमा भारत आइपुगेका छन् । तर म्यान्मारका अधिकारीहरूले भने भारतलाई कूटनीतिक पत्र पठाउँदै उनीहरुलाई फिर्ता गर्न अनुरोध गरेका छन् । दुई देशबीचको ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्न’ ती प्रहरी अधिकारीलाई फर्काउन म्यानमारले आग्रह गरेको भारतीय अधिकारीहरुले जनाएका छन्।
म्यान्मारमा गत महिना भएको सैन्य कूपछि स्थानीयहरुले निरन्तर विरोध र आन्दोलन गरिरहेका छन् । विरोध प्रदर्शन र हडतालसँगै भएका झडपमा परी अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको बताइएको छ ।