प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने महिलामाथि एसिड प्रहार गर्नेलाई सार्वजनिक ठाउँमा झुण्ड्याउने पर्छ।
२४ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिलामाथि एसिड प्रहार गर्नेलाई सार्वजनिक ठाउँमा झुण्ड्याउने कानुन बनाउनुपर्ने बताएका छन् ।
सोमबार जनकपुरधाममा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले महिलामाथि एसिड प्रहार गर्ने, बलात्कार गर्नेलाई सार्वजनिक ठाउँमा झुण्डयाउने कानुन ल्याउनुपर्ने धारणा राखेका हुन् ।
संविधान संशोधन गरेर भएपनि यस्ता घटनामा संलग्नलाई सार्वजनिक ठाउँमा झुण्ड्याउने कानुन ल्याउनुपर्ने उनको भनाइ छ ।
‘हामीले अपराधीलाई कडाभन्दा कडा सजाय दिन चाहन्छौं, तर सकिरहेका छैनौं’ मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारको नीतिले प्रहरी समायोजन नभएको र प्रशासन मातहत आउन नसकेका कारण अपराधीलाई कारबाही गर्न सकेका छैनौं ।’
यद्यपि उनले एक न एक दिन संविधानमा भएको व्यवस्था बमोजिम प्रदेश सरकारले अधिकार पाउने विश्वास व्यक्त गरे । ‘यसपछि जुनसुकै अपराध गर्नेलाई प्रदेश सरकारले छाड्नेवाला छैन’ उनले भने ।