एमाले बाट माओवादी केन्द्रमा कुन-कुन नेताहरु फर्के (पेरिस डाँडामा छलफल)

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा खारेज भएर पूर्ववत पार्टीमा फर्किँदा संगठनमा भएको क्षतिबारे प्रारम्भिक रिपोर्ट तयार पारेको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरुले गरेको रिपोर्टिङअनुसार लुम्बिनी र प्रदेश २ मा बढी क्षति भएको देखिएको छ ।
बैठकमा नेताहरुले नेता बलियो हुने, तर संस्थागत संरचना लथालिंग हुने हालको अवस्था सुधार गर्नुपर्ने बताएका छन् । साथै विचार र नीतिमा स्पष्ट हुँदै माओवादीको के हो भन्ने स्थापित गर्नुपर्नेमा धेरैले जोड दिएका छन् ।
‘हिजो जनयुद्ध थियो, आज छैन । त्यसो भए माओवादी के हो भन्नुपर्छ’ एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टी एकता गरेर नेकपा भएपछि हामीले समाजवादतर्फ जाने भन्यौं । कस्तो समाजवाद ? कसरी समाजवादमा पुग्ने ? प्रष्ट हुनुपर्छ । हाम्रो नेतृत्व यस्तो हुन्छ भन्न सक्नुपर्छ ।’साविकको एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनको निष्कर्षलाई आजको सन्दर्भमा थप व्याख्या गरेर अगाडि बढ्नुपर्ने र संगठन निर्माणमा ध्यान दिनुपर्ने धेरैको जोड छ ।