फेरि वन मन्त्रीले सिठ्ठी फुकेर गैंडा गन्न सुरु गरेपछि।

सबै तयार भएपछि वनदेवीको पूजा भयो । पूजा सकिएपछि वनमन्त्री आले एउटा हात्तीमा चढे । त्यो हात्ती पनि अन्य हात्तीको समूहमा मिसियो । सवा नौ बजेतिर हात्तीमाथि बसेका मन्त्री आलेले सुटी फुके । सिटीको नौलो आवाजले हात्तीहरु सतर्क भएर आवाज निकाल्न थाले । तर माहुतेहरुले कुनै अलमल नगरी हात्ती हिँडाए । हेर्दा हेर्दै हात्तीको लस्कर वनभित्र बिलाउन थाल्यो । यो लस्कर २२/२५ दिन यसरी नै वनभित्र डुल्ने छ ।

राष्ट्रिय गैंडा गणना २०७७ को सोमबार यसरी उद्घाटन भयो । गैंडा विश्वबाट लोप हुने अवस्थमा पुगेको दुर्लभ वन्यजन्तु हो । ‘त्यसैले यी जीवहरुको संख्या कति छ ? कुन भेगमा छन् ? उमेर र लिंगको अवस्था के कस्तो छ सबै कुरा बेला बेलामा थाहा पाइराख्नु पर्दछ । यसैका आधारमा संरक्षण योजना बनाउने गरिन्छ । त्यसैले केही वर्षको अन्तरालमा गैंडा गणना हुने गर्दछ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले भने ।

यसअघि २०७१ सालको चैतमा गैंडा गणना सुरु भएर ०७२ सालको वैशाखमा नतिजा सार्वजनिक भएको थियो । त्यो बेला देशभर ६४५ वटा गैंडा थिए । चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा सर्वाधिक ६०५ वटा गैंडा फेला परेका थिए । गैंडा चितवन निकुञ्ज क्षेत्रमा अत्याधिक पाइए पनि पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइने गर्दछ । सोमबार पर्सा र चितवनमा गणना सुरु भएको हो ।

बर्दियामा चैत १७ र शुक्लामा १९ गतेबाट गणना सुरु हुने उनले बताए । हात्तीमा बसेका गणकहरुले गैंडा पाइने निश्चित क्षेत्रभित्र एक दिनभर डुलेर विवरणहरु संकलन गर्दछन् । ‘चितवन निकुञ्जलाई १९ वटा ब्लकमा विभाजन गरेका छौं । एउटा ब्लक पार गरेर गैंडा अर्कोमा नजाने सम्भावना हेरेर ब्लक निर्धारण गरेका छौं । एउटा ब्लकमा पुरा एक दिन गणना हुन्छ । त्यसैले दोहरिने वा छुट्ने सम्भावना कम रहन्छ,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने ।

हात्तीको लहरले एउटा ब्लक ढाक्ने गर्दछ । हात्तीमा बसेका गणकले दुरबिन र क्यामेराको सहायताले देखेका गैंडाको विवरण लिन्छन् । गैंडा देखिएको ठाउँ जीपीएसमा संकेत गर्दछन् । चितवनमा ४२ वटा हात्ती परिचालन भएको छ । गणक र अन्य कर्मचारीहरु गरेर २ सयजना खटेका छन् । गणकमा सातजना महिलाहरु पनि छन् । सबै कुराको साथ रहे २२/२५ दिनमा गणना सकिने चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । नतिजा घोषणा वैशाखमा हुने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button