सुकुम्बासीको चित्कार, बस्तीमा डोजर लगाएर ७ तलाको सपिङ कम्प्लेक्स।

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा एक अर्ब लगानीमा १८ तले भ्यु टावर निर्माणाधीन छ । यहाँ ७ तलाको सपिङ कम्प्लेक्स पनि बन्दै छ । ४० करोड लागतमा सपिङ कम्प्लेक्स बनाउने क्रममा वर्षौंदेखि बसिरहेका दर्जनभन्दा बढी सुकुम्बासी परिवारको भने बिचल्ली भएको छ ।
प्रधानमन्त्रीका नातेदार (भतिज) दमकका मेयर रोमनाथ ओलीको निर्देशनमा शुक्रबार सुकुम्बासीका घरमा डोजर चलाइएको थियो । करिब १० कट्ठा जमिनमा बस्दै आएका दमक–७ हाटखोलाका १२ घर र ४ कट्ठामा बस्दै आएका पञ्चमुखी टोलका ८ घर सुकुम्बासीको उठीबास भएको हो ।
केही सुकुम्बासी नगरपालिकाले विपन्नका लागि बसाएको नयाँ बस्तीमा आश्रित छन् । दमक–७ रतुवा खोला बगरको यो बस्तीमा बर्खामा सधैं बाढी पस्छ । कतिपय विस्थापित घर भत्काइएको क्षेत्रमै खुला आकाशमुनि छन् । शुक्रबार राति पनि उनीहरूले खुला आकाशमै रात गुजारे ।
सुकुम्बासीहरू २०५७ सालदेखि यहाँ बस्दै आएका हुन् । हाटखोलाका सुकुम्बासीको भने तेस्रो पुस्ता चल्दै छ । स्थानीय चन्द्रबहादुर नेपालले २००७ सालदेखि हजुरबा यहाँ आएर बसेको दाबी गरे । ‘मेरा बुबा पनि यहीं जन्मे र बिते,’ उनले भने, ‘म पनि यहीं जन्मेर बूढो भइसकें ।’
नगरपालिकाले जमिन छाड्न दबाब र चेतावनी दिँदै आए पनि स्थानीयको प्रतिकारले रोकिएको थियो । शुक्रबार भने करिब ५ सय सुरक्षाकर्मी खटाएर सुकुम्बासीका घरमा डोजर लगाइएको थियो । ‘घर नभत्काइदिनुस् भनेर बिलौना गरें तर कसैले सुनेनन्,’ टीकामाया नेपालले भनिन्, ‘नगरपालिकाले यत्रो अन्याय किन गरेको होला ?’ घर भत्काइएपछि उनको रोजीरोटी खोसिएको छ । उनी नास्ता पसल चलाएर जीविका चलाउँथिन् । टीकामायाले भनिन्, ‘रतुवाको बगरमा बसिएको छ । अब कसरी जिन्दगी चलाउने, थाहा छैन ।’