१६ औं शताब्दी तिरको जस्तो देखिने पुरातात्विक वस्तिको उत्खनन् र संरक्षणको अपिल।

हरि बि.क बर्दिया , नेपालको तराइ भुभागको प्राचिन इतिहास र सभ्यता भन्ने वित्तिकै सबैले लुम्बिनी र जनकपुरलाई स्मरण गर्दछन् । एका समय घना जङ्गलले भरिएको नेपालको तराई क्षेत्रको अन्य भागहरुमा कहिलेदेखि मानववस्ती रहिआएको थियो भन्ने एक अनुसन्धान र खोजको विषय रहेकोछ।
बर्दिया जिल्लामा बेलावखतमा खन्ने क्रममा विभिन्न प्राचिन सिक्का र अन्य पुराना चिजहरु भेट्टाइने गरेका छन् । यो कुराले के बर्दिया जिल्लामा प्राचिन समयदेखि नै मानववस्ती अस्तित्वमा थियो त भन्ने प्रश्न उव्जाउँछ । हालसालै खन्ने क्रममा यस्ता केही कुरा पाइएका छन् जसले यो तथ्यलाई थप बल दिन्छ।
बर्दिया गुलरिया नगरपालिका वडा नँ १ को १० नँ गाउँ नजिकै खण्डबाबाको मन्दिर अवस्थित रहेको छ ।यो क्षेत्रका बासिन्दाहरुको यो मन्दिरप्रति निकै ठुलो आस्था रहेको पाइएको छ । यस क्षेत्रका बुढापाकाहरुका अनुसार यो मन्दिर धेरै पहिले देखि नै आस्थाको केन्द्र रहेको थियो । खण्डबाबा मन्दिर नजिकै एक मेडिकल कलेज खोल्ने तयारी भइरहेको छ । त्यसका लागि जमिन सम्याउन जेसिबी चलाउने क्रममा यस्ता केही चिजहरु भेट्टाइएका छन् जसले यो खण्डबाबा मन्दिर क्षेत्रको प्राचिन इतिहास र मानव सक्रियतालाई उजागर गर्दछ ।
खण्डबाबा मन्दिरको क्षेत्रबाट ४० मिटर पश्चिममा जेसिबीले जमिन सम्याउनका लागि माटो निकाल्ने क्रममा जमिनबाट करिब १ मिटर तल केही सिलौटा, जातो, लोहडा र अन्य यस्तै घरायसी प्रयोजनका सामाग्रिहरु भेट्टाइएका छन् । ति सामाग्रीहरु पाइए लगत्तै सरोकारवालाहरुले वडामा जानकारी गराएपछि त्यो क्षेत्रलाई पहिचान गरि सुरक्षित राख्ने काम गरिएको छ र अहिले त्यहाँ थप खन्ने कामलाई स्थगित गरिएको छ । त्यो क्षेत्रमा म आफै पुगेर हेर्ने क्रममा माटोका घैटा र अन्य आकृति जस्ता देखिने चिजहरु जमिनमा देखिएका थिए । ति चिजहरु पुरातत्व विद्हरुलाई अध्ययन गर्न दिनका लागि यथास्थितिमै सुरक्षित राखिएको पाईएको छ ।
यस विषयमा थप अध्ययन र अनुसन्धान गर्दैजादा त्यहाँका स्थानियवासीहरुबाट केही अचम्भित पार्ने कुराहरु सुन्नमा आए । त्यहाँका केही व्यक्तिहरुले त्यो क्षेत्रमा पूराना चाँदी र तामाका सिक्काहरु भेट्टाएका कुराहरु सुन्नमा आयो । यो विषयमा खोज गर्दैजादा ४ जनाले त्यस्ता प्राचिन सिक्काहरु भेट्टाएको कुराहरु सामुन्ने आयो । ति चार जनालाई भेट्ने कोशिष् गर्दा हामी केवल २ जनालाई मात्र भेट्न सफल भयौ । उनीहरुले आफूले ६ वर्षअघि त्यही मन्दिर इलाका वरपर खेतहरुमा विभिन्न समयमा ति तामा र चाँदीका सिक्काहरु भेट्टाएको कुरा जानकारी दिए । अहिले ति सिक्काहरु तिनीहरुसँग नै सुरक्षित रहेका छन् ।
सरकारी तहबाट यस विषयमा कुनै अध्ययन गर्न आवस्यक देखिएमा आफूहरु सहकार्य गर्न तयार रहेको उनीहरुले बताए ।
ति सिक्काहरुको अध्ययन गर्दैजादा हामीले यी सिक्काहरु मुगल कालिन समयको रहेको भेट्टाएका छौ । (मुगल कालिन सँक्षिप्त इतिहास) यी सिक्काहरु मुगल कालिन र ति भन्दा पनि प्राचिन हुन् भन्ने तथ्यमा दुई मत नहोला । यदि यसो हो भने केही प्रश्नहरु हाम्रो सामुन्ने छन्ः खण्डबाबा मन्दिरको इतिहास के हो ? यहाँका स्थानियवासीहरु खण्डबाबाको इतिहास निकै प्राचिन रहेको बताउँछन् ।
यहाँका केही स्थानिय वृद्धवृद्धाहरुसँग भलाकुसारी गर्ने क्रममा यहाँ एक खण्डबाबा नामका ऋषी रहने गरेको कुरा सुन्नमा आयो । ति बाबा कुन समयमा अस्तित्वमा थिए भन्ने कुरा अज्ञात रहेको छ । केही वृद्धहरुसँगको कुराकानीका दौरान आफूहरु सानै छदा धेरै पहिले नै खण्डबाबा मरिसकेको कुरा आफूले सुनेको कुरा उनीहरुले हामीलाई बताए । दोस्रो प्रश्नः के खण्डबाबा मन्दिर कुनै समय यहाँको धार्मिक आस्थाको केन्द्र थियो ? किनकि यति प्राचिन सिक्काहरु पाइनुले यहाँ लामो समयदेखि मानव चहलपहल थियो भन्ने कुरा देखाउँछ । आज किन खण्डबाबा मन्दिरले त्यो महत्व पाउन सकेन यो एक अध्ययनको विषय रहेकोे छ । तेस्रो प्रश्नः के यहाँ इतिहासमा कुनै एक सभ्यता वा मानववस्तीको अस्तित्व थियो त ?
यहाँ लामो समयदेखि बसिआएका केही मधेसी साथीहरुले यहाँ उनीहरु ४-५ पुस्तादेखि बस्दै आएको जानकारी दिए । गुलरिया नगरपालिका भित्र नै यस अघि विभिन्न ठाउँहरुमा प्राचिन सिक्का र अन्य सामाग्रिहरु उत्खनन्का क्रममा पाइएका छन् । खण्डबाबा इलाका वरपर अझै पनि खेतहरुमा जातो, सिलौटा, घैटा र इट्टाका टुक्राहरु पाइने यहाँका स्थानियहरु बताउँछन् । थप खोज गर्ने क्रममा हामीले नेपाल भारत सिमाको बाटो नजिकै भारतिय क्षेत्रमा एक पुरानो इनार पनि भेट्टायौ । अहिले मानववस्तीभन्दा निकै पर एकान्त जङ्गलमा यो इनार कसले किन बनायो होला भन्ने एक प्रश्न सबैको मनमा उब्जन्छ । यी कुराहरुले यो क्षेत्र लामो समयदेखि आवादित थियो र यहाँ मानववस्ती थियो भन्ने कुरातर्फ इङ्गित गर्दछ ।
वडाले यो विषयमा उपयुक्त चासोका साथ खोज कार्यमा अगि बढेको हामीले पायौ । वडाले यस क्षेत्रलाई थप अध्ययन र उत्खनन् गर्नका लागि पुरातत्व विभागलाई पत्र लेखिसकेको कुरा गुलरिया नगरपालिका वडा नँ. १ का वडाध्यक्ष प्रताप कुमार गौतमले हामीलाई जानकारी दिनुभयो ।
इतिहासलाई माया गरिनुपर्छ । इतिहासको बारेमा सम्बन्धित सबै निकायहरुले खोजिनिति गर्नुपर्छ । यसरी यो क्षेत्रमा पूराना घरायसी सामाग्री र प्राचिन सिक्काहरु पाइनुले यो क्षेत्रको इतिहासलाई मुगल कालिन दौरमा लिएर जान्छ । यसको मतलव गुलरिया नगरपालिकाको यो खण्डबाबा मन्दिर क्षेत्रले एक प्राचिन इतिहास बोकेको छ ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।