देशभरका २५ सहरमा वैशाख महिनाभर विद्यालय बन्द रहने।

देशभरका २५ सहरमा वैशाख महिनाभर विद्यालय, कलेजलगायत शिक्षण संस्था बन्द गर्ने सरकारले निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका १४ जिल्लाका विभिन्न सहरका विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । वैशाख मसान्तपछि अवस्था हेरेर सरकारले थप निर्णय लिने उनले प्रस्ट्याए । सरकारले काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै स्थानीय तह, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर, भीमदत्तनगरमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले यी सहरमा वैशाख मसान्तसम्म शैक्षिक संस्था, विद्यालय, तालिम केन्द्र, ट्युसन सेन्टर बन्द गर्ने निर्णय गरिएको बताए । अब भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । शिक्षामन्त्री श्रेष्ठले पनि विद्यालय बन्द रहे पनि वैकिल्पक तरिकाबाट कक्षा सञ्चालन गर्न आग्रह गरेका छन् । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), स्वास्थ्य मन्त्रालय, संसदीय समिति, मानवअधिकार आयोगलगायतका निकायले विद्यालय बन्द गरेर अनलाइनलगायत वैकिल्पक माध्यमबाट पठनपाठन गराउन सरकारलाई सुझाव दिएका थिए ।
हाल बालबालिकामा संक्रमण दर उच्च देखिएको छ । शिक्षा मन्त्रालयले कोरोना फैलिए विद्यालय बन्दको निर्णय सम्बन्धित स्थानीय तहले गर्न सक्ने जानकारी गराएको थियो । त्रिभुवन विश्वविद्यालयले क्याम्पस र विभागहरूलाई आफ्नो अवस्थाको विश्लेषण गरेर अनलाइनलगायत वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको छ । शिक्षाध्यक्ष शिवलाल भुसालले भने, ‘सरकारले निर्णय गरेका ठाउँमा भौतिक अनलाइन पठनपाठन हुन्छ, परीक्षाचाहिँ रोकिँदैन ।’