भारतमा कोरोना संक्रमित बढे,नेपालबाट अक्सिजन पठाउंदै,नेपालमै अभाव हुन सक्छ।

दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए ।

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे पनि माग बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएका अधिकांशलाई अक्सिजन दिनुपरिरहेको छ । ‘यहाँ पनि अक्सिजन अभाव हुने जोखिम देखेर हाम्रा व्यवसायीलाई निकासी नगर्न आग्रह गरेका छौं,’ संघका अध्यक्ष घिमिरेले भने । संघले मंगलबार आफ्ना साधारण सदस्य र आजीवन सदस्यलाई छिट्टै अक्सिजन अभाव हुन सक्ने भन्दै अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, नेबुलाइजर, हाई फ्लो अक्सिजन क्यानुला र अक्सिजनसँग सम्बन्धित सामग्री निर्यात नगर्न सूचना जारी गरेको हो जसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयमा समेत पठाइएको छ ।

उनका अनुसार दमलगायतका श्वाससम्बन्धी समस्या भएकाहरूका लागि पहिले अक्सिजन खपत बढी हुन्थ्यो । ‘अहिले कोभिडका सिकिस्त बिरामीलाई पनि अक्सिजन चाहिने देखिएकाले बजारमा माग बढेको छ । कतिपयले स्टकका लागि भनेर किनिरहेका छन्,’ उनले भने, ‘पहिला जस्तै लकडाउन भएर मेडिकल सामान आयात गर्न समस्या भयो भने अक्सिजन ग्यास अभाव हुन सक्छ ।’

भक्तपुरस्थित जयश्री इन्द्रेणी अक्सिजन ग्यास सप्लायर्सका सञ्चालक रामचन्द्र देशेमरुले कोभिडका संक्रमितहरू बढेसँगै अक्सिजनको माग बढेको बताए । ‘अहिले त फ्याक्ट्री (अक्सिजन उत्पादक) ले नै मागअनुसार अक्सिजन सिलिन्डर दिन सकेका छैनन्, समस्या होला जस्तो छ,’ उनले भने, ‘पहिले विज्ञापन गर्दै पसल–पसल आउँथे ।’ अक्सिजन अभाव हुन सक्ने भएकाले सरकारले बेलैमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । त्रिपुरेश्वरका सर्जिकल व्यवसायी शिव खनालले पनि केही दिनयता अक्सिजन सिलिन्डरको माग बढेको जानकारी दिए ।

‘म अक्सिजन बिक्री गर्दिनँ तर यसमा चाहिने रेगुलेटर धेरै बेचिसकें,’ उनले भने, ‘अभाव हुने अनुमानमा पनि स्टक गर्न मानिसले किनिरहेका छन् ।’ मास्कमा जस्तै कालोबजारी हुन नदिन सरकारले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button