केही दिनमै बहुमतको नयाँ सरकार बन्ने: नारायण काजी।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिबाट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुने बताएका छन् । गृहजिल्ला गोरखामा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले सोमबार सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने दावी गरे ।
केही दिनमै बहुमतको नयाँ सरकार बन्ने पनि उनले बताए । ‘माओवादी, नेपाली कांग्रेसलगायतका पार्टीहरुले विश्वासको मत नदिने निर्णय गरेका छौं,’ उनले भने, ‘सरकारको अहिलेसम्मको प्रतिगमनकारी र निरंकुशतावादी प्रवृत्ति, राष्ट्रिय स्वाधिनतामा सौदाबाजी, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियामा अत्यन्तै छिपछिपेपन, कोरोना महामारी नियन्त्रणमा देखिएको नालायकीपन र असक्षमता, अध्यादेशबाट शासन गर्ने शासकीय शैली छ । यो सबै कोणबाट हेर्दा यो सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन, भोलिका दिनबाट यो सरकार जिम्मेवारीबाट मुक्त हुन्छ ।’
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने स्थिति नरहेको उनले बताए । बहुमत सांसदहरुलाई प्रतिनिधित्व गर्ने पार्टीहरुको सहमतिमा बहुमतको सरकार बन्ने उनले बताए । ‘अहिलेको स्थितिमा नेपाली कांग्रेसको तर्फबाट संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने स्थिति छ,’ उनले भने ।
उनले लुम्बिनी सरकार अवैधानिक रहेको भन्दै अवैधानिक तवरले बलजफ्ती सरकार चलाउने काम भइरहेको बताए ।