कैलालीमा भेन्टिलेटर टुलुटुलु हेर्दै प्राण त्यागछन् संक्रमितहरु।

कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टिलेटर चल्दैनन् भने अक्सिजनको जताततै हाहाकार छ । भेन्टिलेटर नचलेपछि उपचारका लागि भर्ना भएका बिरामीले भेन्टिलेटर हेरेर ज्यान गुमाउनु परिरहेको छ । पछिल्लो दुई दिनमा मात्रै टीकापुर अस्पतालमा १४ जनाले ज्यान गुमाएका हुन् । अस्पतालमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि २२ जनाले ज्यान गुमाइसकेका छन् ।
टीकापुर नगरपालिका–१ का ४५ वर्षीय एक पुरुष चार दिनदेखि अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँमा सुधार नभएपछि आफन्तले भेन्टिलेटरको खाजी गरेर कोहलपुर लैजाने निणर्य गरे । भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने उहाँलाई उच्च उपचारकक्षबाट एम्बुलेन्समा राख्दै गर्दा आइतबार उहाँको ज्यान गयो । “भेन्टिलेटर हुँदासमेत हामीले उपचार पाएनौँ । उपकरण भएर पनि त्यसको प्रयोग नहुँदासम्म कुनै काम नहुँदोरहेछ । आफन्तलाई अकालमै गुमायौँ”, उहाँका एक आफन्तले भन्नुभयो, “उपचारकक्षमा राखिएका तिनै भेन्टिलेटर हेरेर बिरामीले ज्यान गुमाइरहेका छन् । भेन्टिलेटर उपलब्ध गराउने सरकारले जनशक्ति दिन किन कन्जुस्याइँ गरेको होला ?”
कोरोना सङ्क्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको आइसीयू जनशक्तिको अभावमा प्रयोगविहीन भएपछि बिरामी ज्यान गुमाउन बाध्य छन् । एनेस्थेसिया र फिजिसियनको अभावमा सातवटा भेन्टिलेटरसहितको आइसीयू प्रयोगविहीन जस्तै बनेको छ । अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसीयू र भेन्टिलेटरमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना सङ्क्रमित उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।