प्यालेस्टाइन र इजरायल बीच फेरि युद्ध चर्कियाे।

सोमबार राति प्यालेस्टाइनको विद्रोही समूहले हमासले जेरुसेलमनजिकै रकेट प्रहार गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको छ । गाजामा रहेका हमासका सैन्य अड्डामा इजरायली सेनाले आक्रमण गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले ‘रेड लाइन’ नाघेर आक्रमण गरेको बताएका छन् । सन् २०१४ को युद्धपछि पहिलो पटक हमासद्वारा रेड लाइन नाघिएको पनि उनले दाबी गरेका छन् ।
सोमबार रातभर हमासले रकेट प्रहार गर्ने र इजरायली सेनाका तर्फबाट हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गाजा सहरमा रातभर विस्फोटका ठूला आवाज सुनिएको पनि बताइएको छ । इजरायली सेनाले हमासले १५० भन्दा बढी रकेट प्रहार गरेको आरोप लगाएको छ । केही रकेटलाई भने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको उसले बताएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन गाजाबाट इजरायलतर्फ लक्षित गरी भइरहेको रकेट आक्रमण तत्काल रोक्नुपर्ने बताएका छन् । उनले दुवै पक्षलाई तनाव कम गर्ने बाटोमा कदम चाल्न पनि आग्रह गरेका छन् ।
पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको छ । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका छन् । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।
प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका छन् । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।