१० लाख तिरेर हेलिकप्टर मगाए तर संक्रमितको अस्पताल पुग्न नपाउँदै मृत्यु।

कैलालीको धनगढी, हसनपुरका ४५ वर्षीय राजु श्रेष्ठलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा केही कठिनाइ भएपछि चार दिनअघि उनलाई त्यहाँस्थित नवजीवन अस्पताल भर्ना गरियो। तर, अस्पतालमा अक्सिजन अभाव हुनथाल्यो। अस्पतालले अक्सिजनको व्यवस्था आफैं गर्नू भनेपछि आफन्तले दुई दिनसम्म जसोतसो जोहो गरे। तर, थप अक्सिजन व्यवस्था गर्न कठिन हुने भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको कोभिड अस्पताल लैजाने निधो गरे।
‘कोभिड अस्पतालमा अक्सिजन आपूर्ति सहज होला भनेर शुक्रबार हामीले नवजीवनबाट निकालेर सेतीमा भर्ना गर्यौं’, राजुका भतिजा बाबुराजा श्रेष्ठले भने। तर, सेतीमा पनि शुक्रबारदेखि नै अक्सिजन अभाव शुरु भइसकेको थियो। एकातिर अक्सिजनको अभाव, अर्कोतर्फ गम्भीर भएमा आइसीयू र भेन्टिलेटर सपोर्टको सुविधा उपलब्ध हुने सम्भावना नदेखेपछि परिवारले उनलाई काठमाडौं लैजाने निधो गरे।
काठमाडौं लैजान सजिलो थिएन। अनेक प्रयासपछि सर्वोच्च अदालतका एकजना वरिष्ठ न्यायाधीशको पहलमा सिम्रिक एयरको हेलिकोप्टर धनगढी आउन तयार भयो। त्यसका लागि परिवारले १० लाख रुपैयाँ तिरे। र, शनिबार बिहान ११ बजे धनगढीस्थित कभर्ड हलमा अवतरण गरेको हेलिकोप्टर उनलाई बोकेर काठमाडौं उड्यो।
तर, काठमाडौं पुग्दा उनको मृत्यु भइसकेको थियो। ‘अस्पतालबाट अंकल एम्बुलेन्समा कभर्ड हलको मैदानसम्म पुगेपछि आफै हिँडेर हेलिकोप्टर चढ्नुभएको थियो’, बाबुराजाले भने, ‘हेलिकोप्टरमा एक्कासि मृत्यु भइहाल्ने अवस्था बिरामीको थिएन, हामी पत्याउन सकिरहेका छैनौं।’उनी एम्बुलेन्सबाट झरेपछि आफै हिँडेर हेलिकोप्टर चढेका थिए। उनले हेलिकोप्टरमा दुईवटा अक्सिजन सिलिण्डर रहेको, एउटा प्रयोगमा रहेको अक्सिजन सिलिण्डरसहित बिरामीलाई हेलिकोप्टर चढाइएको र तीनवटा सिलिण्डर हुँदाहुँदै पनि गम्भीर अवस्था नभएका बिरामीको अकस्मात मृत्यु हुनु शंकास्पद रहेको बताए।