अमेरिकामा नेपाली अनुसन्धानकर्तालाई ढेड करोडको पुरस्कार।

अमेरिकाको जोन्स हपकिन्स विश्विविद्यालय स्कूल अफ मिडिसनमा पोस्टडक्टरल फेलोको रुपमा कार्यरत एक नेपाली अनुसन्धानकर्ताले डेढ करोडको फेलोसिप अवार्ड पाएका छन् ।
स्कुल अफ मेडिसिनको इन्स्टिच्युट फर सेल इन्जिनियरिङ एन्ड डिपार्टमेन्ट अफ रेडियोलाजी एन्ड रेडियोलोजिकल साइन्सेसमा कार्यरत अनुसन्धानकर्ता डा. रमेश मरासिनीलाई १ लाख ३० हजार डलरको अनुसन्धान वृत्ति मेरिलेन्ड स्टेम सेल रिसर्च फाउण्डेशनले प्रदान गरेको हो ।
उनको मल्टिपल स्क्लोरोसिसको अध्ययन गर्नका लागि उक्त अनुसन्धान रकम दिइएको हो । मल्टिपल स्क्लोरोसिस एक विशेष प्रकारको स्नायुमा लाग्ने रोग हो । मल्टिपल स्क्लोरोसिसको निदानका लागि हालसम्म कुनै उपचार विधिको विकास भइसकेको छैन ।
कसरी स्टेम कोशिकाहरूले निष्कासन गरिएका कणहरू प्रत्यारोपणपछि शरीरमा वितरण हुन्छन् र त्यसले मल्टिपल स्क्लेरोसिसको क्लिनिकल नतिजामा कस्तो सुधार ल्याउँछ भन्ने उनले अनुसन्धानले गर्नेछन् ।
अध्ययन सफलतापूर्वक पूरा भएपछि अध्ययनको रणनीतिहरूलाई अन्य स्नायुसम्बन्धी समस्याहरू जस्तै, एएलएस (एमाइट्रोपिक लेटरल स्क्लेरोसिस), मष्तिष्क पक्षघात, पार्किन्सन,अल्जाइमर रोग आदिको उपचार विकास गर्न मद्दत गर्न सकिने अनुसन्धानकर्ता मरासिनीले बताए ।
गुल्मीको रेसुंगा नगरपालिका-६ घर भएका ३३ वर्षीय मारासिनीले दुई वर्षभित्र उक्त अनुसन्धान गर्नुपर्ने हुन्छ ।हाल उनी पीएचडी पूरा गरेर पोस्टडक्टरल प्रशिक्षार्थी हैसियतमा जोन्स हप्किन्स युनिभर्सिटीको मेडिकल स्कूलमा अनुसन्धानरत छन् ।