रुपैयाँ पैसाको अभावमा कोरोनाे संक्रमितले ज्यान गुमाउनु पर्दैन: ओली।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा प्रधानमन्त्री केपी शमौ ओलीले पैसाको अभावमा कसैको ज्यान जान नहुने निर्देशन दिनुभएको छ ।
आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीले पैसाको अभावमा कुनै नागरिकको ज्यान जान नहुने र राज्यको सबै संयन्त्र कोभिडविरुद्ध लागिपर्नुपर्ने बताउनुभएको बताउनुभयो ।
मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै भन्नुभयो, ‘क्वीक रेस्पोन्स टिम बनाउनुस् । हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नुपर्यो । पैसाको अभावले कसैको ज्यान जान हुँदैन ।’
बैठकमा नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय भएको छ ।
बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गरिने निर्णय भएको छ ।
कोरोना खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको पनि मन्त्री ज्ञवालीले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेका छौं ।’