के मास्क धोएर लाउन मिल्छ ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइरहे हुन्छ ? तपाई पनि थाहा पाउनुहोस

काठमाडाै। कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ । सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो।

कोरोनाको पहिलो लहर सुरू हुँदा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछि त्यो मास्क कोरोना संक्रमण रोक्न भरपर्दो मानिएन। त्यसले मास्क लगाउने व्यक्ति सुरक्षित रहे पनि ऊ संक्रमित छ भने अरूलाई सुरक्षा नगर्ने कुरा सार्वजनिक भयो। कतिपय व्यक्तिले भित्र सर्जिकल मास्क लगाएर बाहिर एन–९५ लगाएको पनि देखियो।

हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ। के यस्तो गर्नु राम्रो हो ? यति मात्र होइन, कपडाको मास्क लगाउनु ठीक हो कि होइन र आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल हामीकहाँ अहिले पनि उत्तिकै छ।

यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनूप सुवेदीले गत वर्ष सांसद गगन थापासँगको फेसबुक संवादमा जवाफ दिएका थिए। मास्कबारे उनीहरूबीचको सवाल-जवाफ कोरोनाको दोस्रो लहरले गाँजेका बेला पुनः सान्दर्भिक देखिएको छ।

डा. सुवेदीका अनुसार भल्भ भएको एन–९५ मास्कले बाहिरबाट भित्र जाने हावा त रोक्छ, तर भित्रबाट बाहिर आउने हावा रोक्दैन। ‘हामीले सास फेर्दा, खोक्दा वा हाच्छियूँ गर्दा थुकको छिटा बाहिर नजाओस् भनेर मास्क लगाउने हो। तर, भल्भ भएको एन–९५ मास्कले त्यस्तो छिटा बाहिर जानबाट रोक्दैन। यसले बाहिरको छिटा भित्र प्रवेश गर्न भने दिँदैन,’ उनले भने।

कोरोना महामारी नियन्त्रण गर्न आफू मात्र होइन, अरूलाई पनि संक्रमणबाट जोगाउनुपर्ने हुँदा यस्तो मास्क लगाउनु ‘सामाजिक रूपमा अनुत्तरदायी व्यवहार’ भएको डा. सुवेदीले बताए।

‘कतिपय मान्छेले एन–९५ भित्र छुट्टै सर्जिकल मास्क पनि लगाउनु हुन्छ। तर, सर्जिकल मास्क लगाएपछि अर्को लगाउनुपर्दैन,’ उनले भने, ‘मास्क लगाउँदा कत्तिको टाइट फिटिङ छ भनेर पनि ध्यान दिनुपर्छ। माथि, तल वा छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने त्यसले संक्रमणबाट बचाउन सक्दैन।’ यस्तो अवस्थामा कपडा राखेर, टेप लगाएर वा अन्य तरिकाबाट मास्कलाई टाइट फिटिङ गराउनुपर्ने उनले सुझाए।

‘मास्क धोएर फेरि–फेरि प्रयोग गर्न मिल्छ कि मिल्दैन?’ डा. सुवेदीले भने, ‘एन–९५ र सर्जिकल मास्क धुन मिल्दैन।’ उनले अगाडि भने, ‘यस्तो मास्क धोएपछि त्यसको छिद्रहरूमा रहेको कपडा बिग्रन्छ। भाइरस सजिलै छिर्न सक्छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button