प्यालेस्टाइनले ढुंगाले हानेर मारेको इजरायली लासले प्यालेस्टाइन‌ महिलालाई बचायो।

काठमाडौं। इजरायल र प्यालेस्टाइनबीच ११ दिनसम्म चलेको सशस्त्र संघर्ष अन्ततः रोकिएको छ । युद्ध रोकिए पनि यसले क्षतविक्षत बनाएका भग्नावशेषहरु उस्तै छन् । युद्धको सुरुवात नै घृणाबाट हुन्छ र युद्धमा प्रेम खोजेर पाइँदैन । तर, इजरायल र प्यालेस्टाइनबीचको यो युद्धमा एउटा घटना यस्तो भयो जो युद्धबाट सुरु भयो तर अन्त्यमा प्रेममा पुगेर टुंगियो । सीएनएनका अनुसार मानवताको पाठ सिकाउने यो कथा ती इजरायली यहुदीको हो जसलाई प्यालेस्टाइनीहरुले ढुंगाले हानेर मारिदिए तर उनको लाशबाट निकालिएको उनको मृगौलाले एक अरब महिलालाई नयाँ जीवन दियो ।

यो कथा ५८ वर्षकी रान्दा अवीस र ५६ वर्षका यिगल होशुआको हो । पूर्वी जेरुसेलमको अल अक्सा मस्जिदमा १३ अप्रिलका दिन इजरायली पुलिसले मुस्लिमहरुमाथि गरेको कारवाही यो युद्धको तत्कालीन कारण बनेको थियो । यससँगै इजरायलका केही सहरहरुमा अरबी र यहुदीहरुबीच दंगा भड्कियो । इजरायलको लोड सहरमा पनि दंगा फैलियो । दंगाका क्रममा यिगल होशुआलाई अरबी मानिसहरुले घेरा हाले । उनलाई लगातार ढुंगाले हानियो । गम्भीर अवस्थामा अस्पताल लगिएका होशुआले ७ दिनसम्म मृत्युसँग संघर्ष गरेपछि प्राण त्यागे । यिगलको आइतबार मृत्यु भयो ।

रान्दा अवीस पुरानो जेरुसेलममा बस्छिन् । उनका दुवै मृगौला खराब भइसकेका थिए । उनी नियमित डायलासिसमा जीवित थिइन् । ९ वर्षदेखि उनी एउटै आशा र प्रतिक्षामा बसिरहेकी थिइन् – कुनै मसीहा आउनेछ, उनलाई मृगौला दिनेछ र रान्दा फेरि जीवनको नयाँ यात्रा सुरु गर्न सक्नेछिन् । ९ वर्षको प्रतिक्षापछि अन्ततः रान्दाले मृगौला पाइन् र सोमबार उनको शरीरमा मृगौला प्रत्यारोपण गरियो । अहिलेसम्म उनलाई थाहा छैन कुन भगवानको दूतले उनलाई नयाँ जीवन दिएका हुन् । उनलाई नयाँ जीवन दिने तिनै हुन् जसलाई रान्दाकै समुदायका अर्थात प्यालेस्टाइनी अरबीहरुले ढुंगाले हानेर मारेका थिए । अर्थात, यिगल होशुआ ।

होशुआले कैयौं वर्ष पहिले आफूले आफ्ना अंग दान गर्ने घोषणा गरिसकेका थिए । जुल लोड सहरमा उनी बस्थे त्यहाँबाट केही दूरीमा जेरुसेलम छ । जेरुसेलमको हादस युनिभर्सिटी अस्पतालमा रान्दाको उपचार भइरहेको थियो । दुई सहरबीचको दूरी केही किलोमिटरको भए पनि यी दुई समुदायबीचको दूरी भने निकै धेरै छ । त्यसैले त त्यहाँ यी दुई समुदायबीच युद्ध भएको थियो । तर, दुई समुदायबीचको यो दूरी मानवताले छोट्याइदियो । दुई समुदायबीचको घृणालाई प्रेमले जित्यो ।

यिगलको मृत्यु भयो । नियमअनुसार उनको रेकर्ड जाँच गरियो । उनी अंग दान गर्नको लागि पहिल्यै दर्ता भइसकेको पाइएपछि यसको प्रक्रिया तीब्र रुपमा अगाडि बढाइयो । यिगल त यो संसारबाट गए तर जाँदाजाँदै रान्दाको लागि मुस्कुराउने कारण बनेर गए । राज्दाको शल्यक्रिया सफल भयो । उनको स्वास्थ्य अब द्रुत रुपमा सुधार भइरहेको छ । उनकी छोरीले टाइम्स अफ इजरायलसँग भनिन् ‘आमा वा हामीलाई थाहै थिएन कि डोनर को हो । हामीले सोच्यौं ऊ जो भए पनि भगवानको दूत होला । हामी होशुआको परिवारप्रति आभार व्यक्त गर्छौं । उहाँ सधैं हाम्रो यादमा रहनुहुनेछ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button